काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज पहिलो दिन तीनवटा सहकारीका कुल ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिले दिएको जानकारी अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आज आफ्नो बचत रकम फिर्ता पाएका छन् ।
समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई मात्र रकम फिर्ता गरिए पनि अबका दिनमा भने बचतकर्ताहरूको रकमका आधारमा वर्गीकरण गरेर क्रमशः सबैको रकम फिर्ता गर्दै जाने तयारी गरिएको छ । हाल समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताको कुल ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेको छ, जसमा अधिकांश हिस्सा साना बचतकर्ताहरूकै रहेको समितिले जनाएको छ ।
यस प्रक्रियाका लागि समितिले ५ लाख रुपैयाँसम्म बचत भएकाहरूलाई साना बचतकर्ता र ५ लाख रुपैयाँभन्दा बढी रकम भएकाहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ । कूल ७६ हजार बचतकर्तामध्ये ५ लाख रुपैयाँभन्दा बढी बचत गर्ने ठूला बचतकर्ताको संख्या जम्मा १८ हजार मात्र रहेको र बाँकी सबै साना बचतकर्ताको सूचीमा रहेको समितिको तथ्याङ्कले देखाउँछ ।
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम फिर्ता गर्नका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली कार्यलाई समेत निकै तीव्र रूपमा अगाडि बढाइएको बताएकी छन् । मन्त्री रावलका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक हुन थालेपछि अहिले ऋणीहरू आफैँ ऋण फिर्ता गर्न अग्रसर हुन लागेका हुन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिलेसम्म यस्ता सहकारीका ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी ऋण फिर्ता भइसकेको छ । समितिले आगामी दिनमा पनि ऋणीहरूबाट बक्यौता असुल गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने दुवै कार्यलाई सँगसँगै तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।


