काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेलगत्तै संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाएको थियो । त्यसको केही समयपछि नै नवनियुक्त प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शपथ ग्रहण लगत्तै नयाँ प्रधानन्यायाधीशको पदभार ग्रहण पनि आजै हुने तयारी छ ।न्याय परिषद्ले पठाएका ६ जना सम्भावित उम्मेदवारहरूको नाम मध्येबाट संवैधानिक परिषद्ले हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतमा हाल वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल रहेकी छिन् र स्थापित वरीयताक्रम अनुसार उनी नै प्रधानन्यायाधीश हुने मुख्य आकांक्षी थिइन् । तर, संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रम र परम्परालाई पूर्ण रूपमा मिच्दै चौथो नम्बरमा रहेका शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । न्यायालयको स्थापित मर्यादा मिचिएको भन्दै नेपाल बार एसोसिएसन लगायतका संस्थाहरूले यस कदमको तीव्र विरोध गरिरहेका छन् ।यो नियुक्ति प्रक्रियालाई सहज बनाउन सरकारले यसअघि नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो, जसले प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्न सजिलो वातावरण तयार पारिदिएको थियो ।
६ सदस्यीय संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भएर पनि निर्णय गर्न सक्ने प्रावधान उक्त अध्यादेशमा राखिएको थियो र त्यही अध्यादेश आएलगत्तै बसेको परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो । यो निर्णय प्रक्रियामा परिषद्का दुई सदस्य प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले कडा असहमति राखेका थिए । संवैधानिक परिषद्का दुई प्रभावशाली सदस्यहरूको तीव्र असहमति र विरोधका बाबजुद बहुमतको आधारमा शर्माको नाम निर्णय गरेर संसदीय सुनुवाइमा पठाइएको थियो, जहाँबाट अनुमोदित भएर उनले आजै कार्यभार सम्हाल्न लागेका हुन् ।


