राष्ट्रपति समक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस: आर्थिक अनुशासन खस्किएकोमा चिन्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच महालेखापरीक्षक तोयम रायाले संविधानको व्यवस्था बमोजिम उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाउनुभएको हो ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको सरकारी खर्चको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले लामो समयदेखि बेरुजुको ग्राफ उकालो लाग्नुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको महसुस भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको छ । अनियमित रूपमा हुने सरकारी खर्चलाई पूर्ण रूपमा निरुत्साहित गरी आर्थिक सुशासन कायम गर्न सके मात्र मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने उहाँको विश्वास थियो ।

यसैगरी, महालेखापरीक्षकको प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई थप उत्तरदायी बनाउने राष्ट्रपतिले बताउनुभयो । उहाँले आगामी दिनमा संस्थागत सक्षमता र पेशागत दक्षता बढाउँदै आन्तरिक सुशासन कायम गर्ने दिशामा महालेखापरीक्षकको कार्यालय अझ बढी सक्रिय हुनुपर्ने सुझावसमेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *