काठमाडौँ । अबदेखि गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । विगतका वर्षहरूमा राष्ट्रिय प्रजातन्त्र दिवस वा गणतन्त्र दिवसका मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहँदै आएकोमा यसपालिदेखि नयाँ व्यवस्था सुरु हुन लागेको हो ।
सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट गणतन्त्र दिवसमा आयोजित समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने औपचारिक निर्णय गरेको थियो । गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले यो दिवसको समारोहलाई प्रधानमन्त्रीभन्दा राष्ट्राध्यक्षले सम्बोधन गर्नु नै उपयुक्त हुने ठहर सरकारले गरेको हो ।प्रधानमन्त्रीका तर्फबाट यसअघि पनि यस्तो व्यवस्थाका लागि पहिलादेखि नै मौखिक आग्रह भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यस पटक भने मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समारोहलाई सम्बोधन गरिदिन आग्रह सहितको प्रधानमन्त्रीको पत्र राष्ट्रपति समक्ष पठाइएको छ ।मन्त्रिपरिषद्को सोही निर्णय र प्रधानमन्त्री शाहको अनुरोध पत्र बुझाउन मुख्य सचिव सुमनराज अर्याल आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । गणतन्त्र दिवसमा अबदेखि प्रधानमन्त्री नबोल्नेभन्दा पनि राज्यको सर्वोच्च पदमा रहेका राष्ट्रपति बोल्ने भन्ने रूपमा यो निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने राष्ट्रपति कार्यालय स्रोतको भनाइ छ ।
नेपालमा वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट विधिवत् रूपमा गणतन्त्र घोषणा भएको थियो । त्यसयता वर्षेनी जेठ १५ गते गणतन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गर्ने र त्यहाँ प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो ।विगतको परम्परा अनुसार गत वर्ष अर्थात् वि.सं. २०८२ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए । त्यसैगरी वि.सं. २०८१ र २०८० को गणतन्त्र दिवसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टुँडिखेलबाट सम्बोधन गरेका थिए ।त्यसभन्दा अघि वि.सं. २०७९ को गणतन्त्र दिवसमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र वि.सं. २०७८ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै मूल समारोहलाई सम्बोधन गरेका थिए। यस वर्षदेखि भने यो शृङ्खलामा परिवर्तन भई राष्ट्रपतिको सम्बोधन समेटिने भएको छ ।
टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवसको उक्त विशेष समारोहमा राज्यका सम्पूर्ण उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने गर्दछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख लगायतका विशिष्ट व्यक्तिहरू नियमित रूपमा सहभागी हुने गरेका छन् ।


