काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई जनस्वास्थ्यसँग जोड्दै सेवा प्रवाहमा उच्च पारदर्शिता र प्रभावकारिता कायम गर्न निर्देशन दिएकी छन् । शुक्रबार विभागको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले कर्मचारीहरूलाई सेवाग्राहीमैत्री बन्न र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउन निर्देशन दिएकी हुन् ।
अनुगमनका क्रममा मन्त्री चौधरीले देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्नु विभागको मुख्य दायित्व भएको बताइन् । मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहने उल्लेख गर्दै उनले भनिन्, “तपाईंहरूको कामले सिधै आम जनताको भान्सा र स्वास्थ्यलाई असर गर्छ, त्यसैले यसमा कुनै पनि सम्झौता हुनुहुँदैन ।”खाद्य क्षेत्रमा भइरहेको नयाँ विकाससँगै नियमन कार्य थप चुनौतीपूर्ण बन्दै गएको मन्त्री चौधरीको भनाइ थियो। खाद्य वस्तुको विविधीकरण, खाद्य योगशील तथा प्रशोधन सहयोगीको बढ्दो प्रयोग, सीमित मापदण्ड र प्रयोगशालाको दायरा जस्ता समस्याले चुनौती थपेको उनले बताइन् । स्रोत साधनको कमीका बाबजुद उपलब्ध संयन्त्रलाई अधिकतम उपयोग गरी परिणाममुखी काम गर्न उनले जोड दिइन् ।
मन्त्री चौधरीले विभागको सेवा प्रवाहलाई गुनासो रहित र छरितो बनाउन निर्देशन दिँदै अनियमिततामा संलग्न हुनेलाई कडा चेतावनी दिइन् । “कुनै पनि अवस्थामा सेवाग्राहीसँग घुस माग्ने, काममा ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने जस्ता गतिविधि नदोहोर्याउनुहोस्,” उनले भनिन्। हाल केही कर्मचारीमाथि मुद्दा दायर र निलम्बन भएको प्रसंग निकाल्दै उनले यस्ता घटनाले सिंगो संस्थाको छवि धमिल्याउने भएकाले सचेत रहन आग्रह गरिन् ।
विभागलाई नियमित बजार तथा उत्पादन स्थलको अनुगमन गर्न निर्देशन दिँदै मन्त्रीले होटलदेखि सडक किनाराका खाद्य व्यवसायसम्म कडा निगरानी राख्न भनिन् । खाद्य अनुमति र आयात प्रक्रियालाई प्रविधिमैत्री र छरितो बनाउन उनले विशेष निर्देशन दिइन्। साथै, प्रयोगशाला सेवालाई आधुनिकीकरण गरी एक्रेडिटेसन प्रक्रियामा लैजान र विषादी, हेभी मेटल तथा माइकोटक्सिन परीक्षणलाई व्यापक बनाउन उनले जोड दिइन् ।
मन्त्री चौधरीले भेटेरिनरी ड्रग रेसिड्यु र एन्टिअक्सिडेन्ट परीक्षण तुरुन्त सुरु गर्न निर्देशन दिएकी छन् । आहारपूरक खाद्य पदार्थको नियमन, ट्रान्स फ्याट नियन्त्रण, र लेबलिङ तथा प्याकेजिङको प्रभावकारी अनुगमन गर्न उनले कर्मचारीहरूलाई भनिन् । उद्योगीहरूलाई घरदैलोमै पुगेर परामर्श सेवा दिन र पानीको गुणस्तर परीक्षणमा विशेष ध्यान दिन निर्देशन दिँदै उनले विभागलाई थप सक्रिय बनाउन आग्रह गरिन् ।


