काठमाडौं । यस वर्षको बर्खे बालीका लागि किसानले रासायनिक मलको अभाव झेल्नु नपर्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले दाबी गरेको छ । सरकारी स्वामित्वका कम्पनीहरूसँग करिब १ लाख ४५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले यसपालिको खेतीको सिजनमा मलको संकट नहुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयको तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको छ । जसमा कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा ६७ हजार ८३६ टन युरिया, २० हजार ९३ टन डीएपी र १४ हजार ३७४ टन पोटास गरी कुल १ लाख २ हजार ३०३ टन मल सुरक्षित छ ।यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनसँग १५ हजार ९८९ टन युरिया, २३ हजार ९५८ टन डीएपी र ३ हजार ३५९ टन पोटास गरी जम्मा ४२ हजार ४९९ टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
गोदाममा रहेको यो परिमाणबाहेक कृषि सामग्री कम्पनीले आयात गरेको थप ४५ हजार ८०५ मेट्रिक टन मल हाल नेपाल भित्रिने क्रममा अर्थात् मार्गस्थ अवस्थामा रहेको छ, जसमा १७ हजार ३८८ टन युरिया र २८ हजार ४६६ टन डीएपी सामेल छ ।
विगतका वर्षहरुमा नेपालमा करिब ४ लाख टनको हाराहारीमा मात्रै मल आयात हुने गरेकोमा यस वर्ष भने हालसम्मकै उच्च अर्थात् साढे ५ लाख टन मल आयात भइसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ । मन्त्रालयका अनुसार नेपालमा वर्षायाममा लगभग २ लाख ८५ हजार टन मलको माग हुने गरेको छ, जसलाई हालको मौज्दात र आउने क्रममा रहेको मलले सहजै धान्ने देखिन्छ ।
यसैबीच किसानको मागलाई थप सुनिश्चित गर्न नेपालले छिमेकी मुलुक भारतसँग थप ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन मल खरिद प्रक्रियामा रहेको जानकारी गराएका हुन् । मन्त्री खनालका अनुसार भारतबाट हुन लागेको उक्त मल खरिद प्रक्रियामा नेपाल सरकारको तर्फबाट कृषि सामाग्री कम्पनी सोझै संलग्न रहेको छ ।


