काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले सरकारले पहिलो चरणमा फोरजी सेवालाई देशैभर पूर्ण रूपमा कार्यान्वयन गर्ने र त्यसपछि मात्र क्रमशः फाइभजी प्रविधिमा जाने बताएका छन् ।
पत्रकारहरूसँगको भेटघाटमा मन्त्री तिमिल्सिनाले फाइभजी सेवा सञ्चालनका लागि ठूलो लगानी आवश्यक पर्ने भन्दै यसको प्रारम्भिक लागत प्रति मेगाहर्ज ४० लाख रूपैयाँसम्म लाग्ने आकलन गरिएको जानकारी दिए ।
मन्त्री तिमिल्सिनाका अनुसार सरकारले दूरसञ्चार पूर्वाधार विस्तार, सेवाको गुणस्तर सुधार र नयाँ प्रविधिको पहुँचलाई उच्च प्राथमिकतामा राखेको छ । बजारमा प्रतिस्पर्धा बढाएर सेवालाई सुलभ बनाउन तेस्रो टेलिकम कम्पनी सञ्चालनका लागि आवश्यक सर्भे प्रक्रिया समेत अगाडि बढाइएको तिमल्सिनाले बताए ।
नेपाल टेलिकमको सेवा प्रणालीलाई थप व्यवस्थित बनाउन ‘बुकिङ सिस्टम’ लागू गर्ने विषयमा नियमअनुसार काम भइरहेको मन्त्रीको भनाइ थियो । यस्तै, विवादित बनेको स्मार्ट टेलिकमको विषय हाल छानबिनको क्रममा रहेको उहाँले स्पष्ट पारे ।
मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा नेतृत्व नियुक्तिको प्रक्रिया सुरु भएको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले भने, “कतिपय संस्थानमा काम प्रभावित भएका छन्, त्यस्तो अवस्थामा आवश्यक परे निमित्त तोकेर भए पनि कामलाई गति दिइनेछ ।”
उनले प्रणालीगत भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको बताउँदै लोककल्याणकारी विज्ञापनमा भइरहेको भनिएको दुरुपयोगबारे छानबिन गरिने आश्वासन दिनुभयो। सरकार सधैँ लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको उहाँको दाबी छ ।


