राखेप र एन्फाबीच सहमतिः पदाधिकारीको निलम्बन हट्यो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

एन्फाका महासचिवसहितका पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतका सम्बन्धित अधिकारीहरूसँग भेटघाट गरी छलफल गरेपछि यो सहमति जुटेको हो । मन्त्रालयमा भएको उक्त सकारात्मक वार्तामा एन्फाले आगामी दिनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएपछि राखेपले निलम्बन हटाउने निर्णय लिएको हो ।

यसअघि राखेपले दिएका पटक-पटकका निर्देशनहरू पालना नगरेको भन्दै एन्फा नेतृत्वमाथि कारबाही गरिएको थियो। राखेपले खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा (२) को अधिकार प्रयोग गर्दै गत चैत ११ गते एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो । निर्देशन उल्लंघन र कार्यशैलीमा प्रश्न उठाउँदै गरिएको उक्त निलम्बनका कारण केही समयदेखि नेपाली फुटबलको सर्वोच्च निकाय अन्योलमा परेको थियो ।

शुक्रबारको सहमतिसँगै अब एन्फाको वर्तमान कार्यसमितिलाई आफ्नो नियमित जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । सरकारी निकाय र खेलकुदको कार्यकारी संस्थाबीचको यो मेलमिलापले रोकिएका फुटबल गतिविधिहरू सुचारु हुने र नेपाली फुटबल क्षेत्रमा देखिएको प्रशासनिक गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *