काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै नाफामा वृद्धि गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा टेलिकमले ६ अर्ब २७ करोड २९ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रूपैयाँमा मात्र सीमित थियो ।
मुनाफामा आएको यो सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सकारात्मक प्रभाव देखिएको छ । गत वर्ष ४२ रूपैयाँ ३ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ९.९ प्रतिशतले बढेर ४६ रूपैयाँ ४७ पैसा पुगेको छ। यसले लगानीकर्ताहरूका लागि कम्पनीको मुनाफा क्षमता बलियो बन्दै गएको संकेत गर्दछ ।
कम्पनीको मुख्य व्यवसाय अर्थात् सञ्चालन आयमा पनि उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रूपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६१ करोड २० लाख रूपैयाँ अर्थात् २.४२ प्रतिशतले बढी हो ।
त्यस्तै, अन्य वित्तीय स्रोतहरू समेत जोडेर कम्पनीको कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रूपैयाँ पुगेको छ । ब्याज, कर तथा ह्रासकट्टी अघिको मुनाफातर्फ पनि कम्पनीले १.३२ प्रतिशतको सामान्य वृद्धि हासिल गर्दै १४ अर्ब ३८ करोड २ लाख रूपैयाँ कायम गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको आय र मुनाफा बढ्नुमा जिएसएम मोबाइल सेवाको राजस्वमा भएको वृद्धि र प्रभावकारी खर्च व्यवस्थापनको मुख्य भूमिका रहेको देखिन्छ । गत वर्षको तुलनामा जीएसएम सेवातर्फको राजस्व ५७ करोड ७४ लाख रूपैयाँले बढेको छ भने ह्रासकट्टी खर्चमा ८.४६ प्रतिशतले कमी आएको छ । यी दुवै पक्षले कम्पनीको खुद नाफा सुरक्षित गर्न मद्दत पुर्याएका छन् ।
यद्यपि, कम्पनीले बैंक निक्षेपबाट प्राप्त गर्ने ब्याज आयमा भने उल्लेख्य गिरावट व्यहोर्नुपरेको छ । बैंक ब्याज आयमा करिब २०.५७ प्रतिशत अर्थात् ५७ करोड ६६ लाख रूपैयाँले कमी आएको छ। बजारमा ब्याजदर निरन्तर घट्दै गएका कारण बैंकबाट प्राप्त हुने आम्दानीमा गिरावट आएको कम्पनीको भनाइ छ । ब्याज आम्दानी घटे पनि सञ्चालन आयमा भएको सुधारले समग्र वित्तीय स्वास्थ्यलाई सन्तुलित राखेको देखिन्छ ।


