हिमाल आरोहणः नेपाल सरकारको ढुकुटीमा अर्बौंको योगदान

काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गर्न सफल भएको छ ।

पर्यटन विभागको तथ्यांक अनुसार मंगलबारसम्म ४७ वटा समूहका कुल ४ सय ६४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन् । ती आरोहीहरूबाट कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी प्राप्त भएको हो ।यस वर्ष रोयल्टी संकलनमा उल्लेख्य वृद्धि हुनुको मुख्य कारण सरकारले शरद ऋतुदेखि लागू हुने गरी रोयल्टी शुल्क बढाउनु हो । नयाँ शुल्क संरचनाका कारण अघिल्ला वर्षहरूको तुलनामा राजस्वको अंकमा ठूलो सुधार देखिएको विभागले जनाएको छ ।

सगरमाथा बाहेक अन्य हिमालमा पनि आरोहीहरूको उत्साहजनक सहभागिता रहेको छ । यस सिजनमा कुल २९ वटा हिमाल आरोहणका लागि १ सय २७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन् । यी सबै हिमालबाट सरकारले कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबरको रोयल्टी संकलन गरिसकेको छ।

आरोहण अनुमति लिने हिमालहरूमध्ये सगरमाथापछि ल्होत्से र अमादब्लममा बढी आकर्षण देखिएको छ । ल्होत्से हिमालका लागि ९ समूहका १ सय ११ आरोही र अमादब्लमका लागि ९ समूहका १ सय ४ आरोहीले अनुमति लिएका छन् । यसले नेपालका अन्य हिमालहरूमा पनि पर्यटकीय आकर्षण बढ्दै गएको पुष्टि गर्दछ ।पर्वतारोहणका लागि यस वर्ष विश्वका ७९ मुलुकका नागरिक नेपाल आएका छन्। तथ्यांक अनुसार सबैभन्दा धेरै चीनबाट १ सय ३९ र अमेरिकाबाट १ सय ३२ आरोही आएका छन् ।

त्यस्तै, बेलायतबाट ७२ र रुसबाट ६६ जनाले आरोहण अनुमति लिएका छन् ।सगरमाथाको विशिष्ट चर्चा गर्दा यसका लागि मात्र ५५ मुलुकका आरोहीले अनुमति लिएका छन्। जसमा १ सय चिनियाँ, ६७ अमेरिकी र ५८ जना भारतीय नागरिक रहेका छन् । यसरी हेर्दा नेपालको पर्वतारोहण पर्यटनमा छिमेकी मुलुक र पश्चिमा देशका नागरिकको वर्चस्व देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *