अञ्जन श्रेष्ठको काँधमा उद्योग वाणिज्य महासंघको जिम्मेवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सर्वोच्च नेतृत्व अब अञ्जन श्रेष्ठको काँधमा आएको छ ।

महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले श्रेष्ठले आगामी तीन वर्षका लागि यो गरिमामय संस्थाको नेतृत्व सम्हाल्ने निश्चित भएको हो ।महासंघको विधानको दफा २९ को उपदफा ३ मा रहेको विशेष व्यवस्थाले श्रेष्ठको यो यात्रालाई सहज बनाएको देखिन्छ । उक्त विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने र त्यसपछिको कार्यकालबाट मात्र अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने उल्लेख गरिएको छ ।

सोही वैधानिक आधारमा टेकेर श्रेष्ठले नेतृत्वको जिम्मेवारी पाएका हुन् ।यो प्रक्रियाबाट अध्यक्ष बन्ने श्रेष्ठ महासंघको इतिहासमा चौथो व्यक्ति हुन् । यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकालले पनि वरिष्ठ उपाध्यक्षको अनुभव बटुलेर स्वतः अध्यक्ष बन्ने अवसर प्राप्त गरेका थिए । श्रेष्ठको आगमनसँगै महासंघमा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने यो शृङ्खलाले निरन्तरता पाएको छ ।

नवनियुक्त अध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘लक्ष्मी समूह’ का कार्यकारी निर्देशक हुन् । अटोमोबाइल, सेवा, पर्यटन र उत्पादनमूलक जस्ता विविधि क्षेत्रमा लगानी र दख्खल राख्ने उनी एक सफल उद्यमीका रूपमा चिनिन्छन् । उनको व्यावसायिक विज्ञताले वर्तमान आर्थिक चुनौतीका बीच निजी क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

विगत दुई दशकदेखि महासंघमा सक्रिय श्रेष्ठको संस्थागत अनुभव निकै लामो छ । २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा महासंघ प्रवेश गरेका उनले विभिन्न महत्वपूर्ण समितिहरूमा रहेर काम गरिसकेका छन् । २०४५ सालदेखि नै पारिवारिक व्यवसायमा जोडिएका श्रेष्ठले ५७औँ साधारण सभाबाट वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेर अध्यक्षको यात्रा तय गरेका थिए ।मंगलबार सम्पन्न निर्वाचनले अध्यक्ष बाहेकका अन्य पदाधिकारी र सदस्यहरूको टुंगो लगाएको छ ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै बुधबारदेखि श्रेष्ठले औपचारिक रूपमा महासंघको कार्यभार सम्हाल्ने तयारी छ । उनको नेतृत्वमा महासंघले उद्योगी र व्यवसायीका समस्यालाई सरकारसम्म पुर्याउन थप प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *