काठमाडौं । प्रतिनिधिसभाबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दर्ता गराएका दुईवटा महत्त्वपूर्ण विधेयक पारित भएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पारित गरेको हो । प्रधानमन्त्री शाहले गत वैशाख २५ गते प्रतिनिधिसभामा दर्ता गराएका यी दुवै विधेयक सोमबार र मंगलबारको बैठकले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएसँगै अब यी दुवै विधेयक राष्ट्रिय सभामा जानेछन् र त्यहाँबाट पनि पारित भएपछि पुनः प्रतिनिधिसभामै फर्किनेछन् । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेपछि सभामुखबाट प्रमाणित भएर राष्ट्रपतिसमक्ष पुग्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउने कानुनी प्रावधान छ ।
यसैबीच, वित्तीय क्षेत्रको सुदृढीकरणका लागि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३’ पनि संसद् पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको यस विधेयकले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्ने लक्ष्य राखेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रमा आएको परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा केन्द्रीय बैंकको भूमिकामा आएको विकासलाई दृष्टिगत गर्दै प्रचलित ऐनका व्यवस्थालाई थप स्पष्ट, व्यवस्थित तथा समयानुकूल बनाउन यो विधेयक ल्याइएको हो । विशेषगरी बैंकको उद्देश्य, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति सम्बन्धी व्यवस्था, वित्तीय स्थायित्व कायम गर्ने संयन्त्र, डिजिटल करेन्सी सम्बन्धी व्यवस्था तथा नियामकीय अधिकारलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्य विधेयकले राखेको छ । नेपाल राष्ट्र बैंकलाई अझ बढी स्वायत्त, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गर्न कानुनी सुधार आवश्यक भएकाले यो विधेयक ल्याउनुपरेको अर्थमन्त्री वाग्लेले विधेयकको उद्देश्य र कारणमा उल्लेख गरेका छन् ।


