विदेशमा अलपत्र परेका नेपालीको उद्धार र गुनासो सुनुवाइका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकहरूका समस्या तथा गुनासोहरूलाई थप सहज र प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारले ‘मोफा मित्र’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको यो एपको परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका हुन् । एप एन्ड्रोइड र आईओएस दुवै खालका स्मार्टफोनहरूमा डाउनलोड गरेर प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताए । यो एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगहरूबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी सम्बोधनमा यो एपले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

विभागका सूचना प्रविधि अधिकृत नविनकुमार झाका अनुसार ‘मोफा मित्र’ एपमा विशेषगरी चार वटा मुख्य फिचरहरू समावेश गरिएका छन्, जसमा खोजतलास तथा उद्धार, शव व्यवस्थापन, बीमा वा क्षतिपूर्ति र गुनासो वा समस्या दर्ता रहेका छन् । यस एपमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइनमार्फत निवेदन दर्ता गर्न सकिनेछ । साथै, विदेशमा मृत्यु भएको अवस्थामा शव व्यवस्थापन र बीमा तथा क्षतिपूर्ति रकम दाबी लगायतका अन्य गुनासोहरू समेत दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

एप प्रयोगकर्ताले आफ्नो पासपोर्ट नम्बर र जन्ममिति राखेर सहजै उजुरी, गुनासो तथा निवेदन दर्ता गर्न सक्नेछन् । यसका साथै एपमार्फत आफूले गरेको निवेदनको स्थिति कस्तो छ र त्यसमाथिको काम कारबाही तथा अनुसन्धान कहाँ पुग्यो भन्नेसम्मको प्रत्यक्ष अपडेट समेत सहजै हेर्न सकिने झाले जानकारी दिए। एपमा समस्या दर्ता गर्ने मात्र नभई विदेशस्थित नेपाली नियोगहरूको सम्पूर्ण सम्पर्क नम्बर, नियोगहरूले प्रदान गर्ने सेवाको विवरण, ट्राभल एड्भाइजरी, सुरक्षा सूचना तथा कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्नहरू समेत समावेश गरिएको छ ।

यसअघि विभागले अनलाइनमार्फत गुनासा तथा निवेदन दिन सकिने व्यवस्था गरेको भए तापनि उक्त निवेदन पहिले विभागमा पुग्ने र विभागले नियोगमा पठाउनुपर्ने बाध्यता थियो । तर, अब यो एपमार्फत निवेदन दिँदा सिधै सम्बन्धित देशमा रहेको नेपाली नियोगमा पुग्ने कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले बताइन् । महानिर्देशक सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीति अनुरूप कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग निरन्तर सक्रिय रहेको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *