काठमाडौं । प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा उनलाई यस जिम्मेवारीका लागि नियुक्त गरेका हुन् ।
यो नियुक्ति नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम गरिएको हो । उक्त संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि सभामुखले सिफारिस गर्ने र सोही आधारमा राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान रहेको छ ।
संविधानमा संघीय संसदको महासचिवका लागि सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिस आवश्यक पर्ने भए पनि सभाको सचिवका हकमा सम्बन्धित सदनको प्रमुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने स्पष्ट उल्लेख छ ।नवनियुक्त सचिव अधिकारी संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ निवासी हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा र दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन् ।
निजामती सेवामा २४ वर्ष लामो कार्य अनुभव सम्हालिसकेका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । अब उनले प्रतिनिधिसभाको प्रशासनिक नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।


