एमसीसी परियोजना: आगामी वर्ष २९ अर्ब ३४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजनामा आगामी वर्षका लागि २९ अर्ब ३४ करोड रुपैयाँ बराबरको ठुलो बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आफू मातहत रहेको ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए) नेपालमार्फत खर्च गर्ने गरी सरकारले कुल २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको हो ।यस परियोजनाका लागि विनियोजित बजेटमध्ये नेपाल सरकारको आन्तरिक स्रोत र वैदेशिक अनुदान दुवैको उपयोग गरिनेछ । जसअन्तर्गत वैदेशिक अनुदानबाट २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ र नेपाल सरकारको आफ्नै स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।

सरकारले आगामी वर्षका लागि छुट्याएको यो बजेटमा पूँजीगत खर्च अर्थात् विकास निर्माणको हिस्सा निकै ठुलो रहेको छ । एमसीसी अन्तर्गत आगामी वर्ष चालु खर्चतर्फ १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ भने विकास निर्माण र पूर्वाधार विकासमा हुने पूँजीगत खर्चतर्फ २७ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबर हुने अनुमान गरिएको छ ।

विगतका वर्षहरूको तुलनामा आगामी वर्षका लागि एमसीसीको बजेटमा भारी वृद्धि गरिएको देखिन्छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा यो परियोजनामा मात्र २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ खर्च भएको थियो । त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को संशोधित अनुमान ७ अर्ब ४९ करोड १३ लाख रुपैयाँ रहेको छ, जसको तुलनामा आगामी वर्षको बजेट आकार निकै बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *