काठमाडौं । पेट्रोलियम पदार्थको आयात घटाउने र स्वदेशी कच्चापदार्थको उपयोग बढाउने लक्ष्यका साथ सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल आयल निगमले सरकारको नीति अनुसार स्वदेशमै उत्पादित इथानोल खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । यसका लागि निगमले एक सूचना जारी गर्दै खेर जाने कृषि तथा अन्य जैविक पदार्थ प्रयोग गरी इथानोल उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूलाई आवेदन दिन आह्वान गरेको छ ।

निगमले इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थको विस्तृत सूची नै सार्वजनिक गरेको छ । यस अन्तर्गत चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस) र नेपियर घाँसदेखि लिएर पराल, मकैको ढोड र गहुँको छ्वालीजस्ता कृषि अवशेषलाई समेत समावेश गरिएको छ । त्यसैगरी खेर जाने अन्य कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), सिमल तरुल (कास्साभा) र खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने गरी सडेगलेका अन्नलाई पनि इथानोलको कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ । यद्यपि, खाद्यान्नका रूपमा प्रयोग हुने सग्लो वा राम्रो अन्नलाई भने इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ ।
सरकारले गत २८ फागुन २०८२ मा राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ अनुसार यो तयारी अगाडि बढाइएको हो । उक्त आदेशमा तोकिएको गुणस्तर र विधि पूरा गर्ने उत्पादकहरूबाट मात्र निगमले इथानोल खरिद गर्ने छ । यस नीतिले देशमा खेर गइरहेका कृषिजन्य वस्तुको सदुपयोग हुनुका साथै आयात प्रतिस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।
‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ मार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातको निर्भरता घटाउने सरकारको मुख्य लक्ष्य रहेको छ । यस आदेश अनुसार आयल निगमले उपलब्धताका आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । यद्यपि, आवश्यकता र परिस्थिति हेरेर मन्त्रिपरिषद्ले यो मिश्रणको अनुपातलाई घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ ।
यो नीति अनुसार इथानोल उत्पादक उद्योगहरूले प्रचलित कानुन बमोजिम तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादित इथानोल आयल निगमलाई मात्र बिक्री गर्न पाउनेछन् । निगमले खरिद गर्नुअघि प्रत्येक खेपको गुणस्तर परीक्षण गर्ने छ भने उत्पादक उद्योग आफैंले पनि गुणस्तर जाँचका लागि आफ्नै प्रयोगशाला स्थापना गर्नुपर्ने दायित्व तोकिएको छ । यसरी गुणस्तरहीन इथानोलको खरिद–बिक्रीलाई पूर्ण रूपमा निरुत्साहित गरिने योजना बनाइएको छ ।
इथानोल अत्यधिक ज्वलनशील र संवेदनशील पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी र मिश्रण गर्दा उच्च सतर्कता अपनाइने छ, जसका लागि मन्त्रालयले छुट्टै सुरक्षा मापदण्ड बनाएर लागु गर्ने तयारी गरेको छ । यस प्रक्रिया अन्तर्गत आयल निगमले इथानोल खरिदका लागि योग्य उद्योगहरूसँग औपचारिक सम्झौता गर्नेछ र सम्झौता बमोजिम उद्योगहरूले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमै इथानोल उपलब्ध गराउनुपर्नेछ ।


