काठमाडौं । नेपालका पाँच जना प्रतिभाशाली साइबर सुरक्षा अनुसन्धानकर्ता (बग बाउन्टी हन्टर) हरूले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी मेटाद्वारा ताइवानमा आयोजित ‘मेटा रिसर्चर्स कन्फरेन्स’ मा सहभागी भएर नेपालको शिर उच्च पारेका छन् ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता विश्वचर्चित सामाजिक सञ्जालका सुरक्षा प्रणालीमा रहेका जटिल कमजोरीहरू पत्ता लगाएर तिनलाई सुरक्षित बनाउन पुर्याएको योगदानको कदर गर्दै मेटाले उनीहरूलाई यस विशेष सम्मेलनमा निमन्त्रणा गरेको हो ।विश्वभरका छानिएका उत्कृष्ट सुरक्षा विज्ञहरूको उपस्थिति रहने यस सम्मेलनमा नेपाली युवाहरूको सहभागिताले नेपालको साइबर सुरक्षा क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरिदिएको छ । यसअघि पनि विभिन्न समयमा नेपाली ‘एथिकल ह्याकर’ हरूले विश्वका ठूला प्रविधि कम्पनीहरूबाट लाखौँ डलर पुरस्कार प्राप्त गरिसकेका छन्, तर यसरी औपचारिक रूपमा मेटाको सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो उपलब्धि केवल ती पाँच युवाहरूको व्यक्तिगत सफलता मात्र नभई, नेपालको सूचना प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक क्षण हो । यसले विश्वलाई नेपाली युवाहरूको प्राविधिक सीप र बौद्धिकता कुनै पनि विकसित मुलुकको तुलनामा कम छैन भन्ने बलियो सन्देश दिएको छ । यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा नेपालीहरूको उपस्थिति बढ्दै जाँदा नेपाललाई विश्वव्यापी साइबर सुरक्षाको केन्द्रका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने देखिन्छ ।
ताइवानमा भइरहेको यस सम्मेलनले नेपाली अनुसन्धानकर्ताहरूलाई विश्वका शीर्ष इन्जिनियरहरूसँग अनुभव साटासाट गर्ने र नयाँ प्रविधिबारे सिक्ने अनुपम अवसर प्रदान गरेको छ। यो सफलताले नेपालमा साइबर सुरक्षा र इथिकल ह्याकिङलाई करियरको रूपमा हेर्ने नयाँ पुस्ताका लागि ठूलो प्रेरणा र उत्साह थपिदिएको छ ।


