अन्तरदेशीय डिजिटल भुक्तानी: नेपाल र श्रीलंकाबीच क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । नेपाल र श्रीलंकाबीच अन्तरदेशीय डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सुरु भएको छ ।

नेपाल क्लियरिङ हाउस र श्रीलंकाको लंकापेबीचको सहकार्यमा क्रस-बोर्डर क्युआर भुक्तानी सेवा सञ्चालनमा आएको हो ।श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित एक विशेष समारोहका बीच यो सेवाको घोषणा गरिएको हो । यो सम्झौतापछि श्रीलंका भ्रमणमा जाने नेपाली पर्यटक तथा व्यवसायीहरूले अब नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।नेपाली यात्रुहरूले आफ्नो कनेक्ट आईपीएस वा मोबाइल बैंकिङ एपमार्फत श्रीलंकाका ४ लाखभन्दा बढी ‘लंका क्यूआर’ मर्चेन्टहरूमा स्क्यान गरी सिधै भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा हाल प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकमार्फत सुरु भएको छ । बैंकका ग्राहकले आफ्नो डलर कार्ड वा उपकरणलाई कनेक्ट आईपीएससँग लिंक गरी श्रीलंकामा सहजै भुक्तानी गर्न सक्नेछन् ।नेपाल क्लियरिङ हाउसका अनुसार दक्षिण एसियाली मुलुकहरूबीच डिजिटल भुक्तानीको क्षेत्रमा यो एक महत्त्वपूर्ण उपलब्धि हो ।

यसले दुई देशबीचको भुक्तानी इकोसिस्टमलाई सुरक्षित, सुदृढ र पारदर्शी बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।”यस व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणका क्रममा सुरक्षित र रियल-टाइम भुक्तानीको विकल्प प्रदान गर्नेछ,” नेपाल क्लियरिङ हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।हाल लक्ष्मी सनराइज बैंकबाट सुरु भएको यो सेवा आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थाका मोबाइल एपहरूमा पनि विस्तार गरिने बताइएको छ ।

राष्ट्रियस्तरका सुरक्षित प्रणालीमार्फत कारोबार हुने भएकाले यो सेवा भरपर्दो र सहज हुने दाबी गरिएको छ ।यसअघि नेपाल र भारतबीच पनि यस्तै प्रकारको अन्तरदेशीय भुक्तानी सेवा सुरु भइसकेको छ, जसले दक्षिण एसियामा डिजिटल अर्थतन्त्रको विस्तारलाई तीव्रता दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *