मन्त्रिपरिषद् निर्णयः सशस्त्रको एआईजीमा अञ्जनी कुमार पोखरेल नियुक्त, भूमि समितिले पायो नयाँ नेतृत्व

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले गरेका ४ वटा महत्त्वपूर्ण निर्णयहरूका बारेमा सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।बैठकले गृह मन्त्रालयको प्रस्ताव बमोजिम सशस्त्र प्रहरी बलमा रिक्त रहेको सर्वोच्च पदहरूमध्ये एकमा बढुवा गर्ने निर्णय गरेको छ । जसअनुसार सशस्त्र प्रहरी नायब निरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा नियुक्ति गरिएको छ ।यसैगरी, मन्त्रिपरिषद्ले भूमि सम्बन्धी समस्या निराकरणका लागि महत्वपूर्ण कदम चाल्दै भूमि समस्या समाधान समितिको पदाधिकारीहरू चयन गरेको छ। सरकारले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गरेको छ भने सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङका पद्मनिति सोती र काठमाडौंकै डा. रोहना श्रेष्ठलाई जिम्मेवारी तोकेको छ ।

वातावरण संरक्षण र अन्तर्राष्ट्रिय प्रतिबद्धताका सवालमा पनि बैठकले एक महत्वपूर्ण सम्झौता स्वीकृत गरेको छ। युनाइटेड नेसन्स इन्भाइरमेन्ट प्रोग्राम (यूएनईपी) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’को कार्यान्वयनका लागि आएको सम्झौता प्रस्तावलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले सुरक्षा तथा छानबिनसँग सम्बन्धित एक समितिको म्याद थप गर्ने निर्णय समेत गरेको छ । गत २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि थप ४५ दिनका लागि बढाउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *