“सार्वजनिक भवन” केन्द्रित १७औँ राष्ट्रिय ASA प्रदर्शनी र गोष्ठी आयोजना हुँदै

काठमाडौं । एसोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (ASA), पुल्चोक क्याम्पसद्वारा आयोजित १७औँ राष्ट्रिय ASA प्रदर्शनी अन्तर्गत यही पुष ७ गते (डिसेम्बर २२) मा “Between Possibilities and Precision” भन्ने मूल नारासहित “Rethinking Public Buildings” विषयक एकदिने बृहत् गोष्ठी (Symposium) आयोजना हुने भएको छ।

कार्यक्रम पुल्चोक क्याम्पसस्थित पुस्तकालय हल मा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। नेपालका सार्वजनिक भवनहरूको योजना, डिजाइन, संरचनात्मक सुरक्षा, समावेशिता र संस्थागत कार्यान्वयन प्रक्रियामाथि गहन बहस तथा विमर्श गर्नु गोष्ठीको उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको औपचारिक सत्रमा इन्जिनियरिङ अध्ययन संस्थान (IOE) का डीन प्रा.डा. सुशील बी. बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। स्वागत मन्तव्य १७औँ राष्ट्रिय ASA प्रदर्शनीका संयोजक तथा कार्यक्रम अध्यक्ष नमराज लामिछाने ले दिनेछन्। विशेष अतिथि वक्ताका रूपमा डा. श्रीहरि थापा को उपस्थिति रहनेछ।

गोष्ठीको मुख्य आकर्षणका रूपमा रहेको छलफल सत्रमा पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख सह-प्राध्यापक डा. सञ्जय उप्रेती ले मुख्य वक्तव्य (Keynote Address) प्रस्तुत गर्नेछन्।
छलफल सत्रका प्यानलिस्टहरूमा प्रा.डा. संगीता सिंह (शहरी योजना विज्ञ),प्रा. डा. प्रेमनाथ मास्के (संरचनात्मक तथा भूकम्प इन्जिनियरिङ विशेषज्ञ), आर्किटेक्ट प्रकाश आर्याल (पुनर्निर्माण तथा रेट्रोफिटिङ विशेषज्ञ), आकृति घिमिरे (युवा नीति तथा नागरिक सहभागिता अभियन्ता) रहेका छन्।

छलफल सत्रको अध्यक्षता पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल ले गर्नेछन् भने कार्यक्रमको सञ्चालन (Moderator) आर्किटेक्ट युगान्तार पौडेल ले गर्नेछन्।

कार्यक्रममा सहभागी दर्शकहरूसँग प्रत्यक्ष प्रश्न–उत्तर सत्र तथा खुला अन्तरक्रिया (Open Forum) पनि समावेश गरिएको छ, जसले विद्यार्थी, नीति निर्माता, विज्ञ तथा पेशागत व्यक्तिहरूबीच संवादको सेतु निर्माण गर्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमको मिडिया पार्टनर का रूपमा नेपालको पहिलो न्यू मिडिया स्टार्टअप राम्रो सञ्चार (Ramro Sanchar) रहेको छ। कार्यक्रमको दस्तावेजीकरण तथा सञ्चार प्रवर्द्धनमा राम्रो सञ्चारले विशेष भूमिका निर्वाह गर्नेछ।

आयोजकका अनुसार, यो गोष्ठी केवल शैक्षिक कार्यक्रम मात्र नभई नेपालका सार्वजनिक पूर्वाधार र भवनहरूलाई दिगो, सुरक्षित र नागरिकमैत्री बनाउने दिशामा नीतिगत तथा व्यवहारिक बहसको महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *