घोराही-तुलसीपुर सडक चार लेनमा स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । यस कार्यका लागि लागत अनुमान भ्याट बाहेक २ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७८० रूपैयाँको बोलपत्र आह्वान भएको थियो। निर्माण कम्पनी श्री दिवा-भगवती जेभीको भ्याट बाहेक २ अर्ब २४ करोड ५६ लाख १७ हजार १३४ रूपैयाँको बोलपत्र स्वीकृत भएको थियो । यस ठेक्का अन्तर्गत घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१.५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गरिने छ। सडक विभाग, मदन भण्डारी राजमार्ग निर्देशनालय चाकुपाट, ललितपुर र निर्माण व्यवसायीबीच २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधि ३६ महिनाको रहेको छ। डिभिजन सडक कार्यालय दाङ स्रोतका अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट ठेक्कापट्टा व्यवस्थापन भए पनि कार्यान्वयनको जिम्मा सडक डिभिजन दाङलाई सुम्पिइएको छ ।
सडकले ओगट्ने ३० मिटर र कालोपत्रेको चौडाइ चार लेनको रहने र बीचमा मेडियन हुनेछ। यसअघि सडक सुधार आयोजना अन्तर्गत लमही–घोराही हुँदै तुलसीपुरसम्म सडक स्तरोन्नतिका लागि ठेक्कापट्टा व्यवस्थापन भइसकेको थियो। तत्कालीन निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलाइ गरेको र सम्झौताका सर्तहरू उल्लंघन गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको थियो। भारतको एक्जिम बैंकको सहयोगमा सञ्चालित सडक स्तरोन्नतिको कार्य गर्ने कार्यको प्रतीक्षामा करिब चार वर्ष अनिर्णित बस्नु परेको थियो। अधुरो निर्माण कार्यका कारण सवारी दुर्घटना बढेका थिए। त्यसैले पछिल्लो समय नेपाल सरकारको स्रोतबाटै स्तरोन्नति गर्न २०८१ साउनदेखि प्रक्रिया सुरू भएको हो। २०८१ मंसिर ११ गते अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको २०८१ मंसिर १६ गतेको निर्णयअनुसार ३ अरब ९९ करोड ४९ लाख रूपैयाँको बहुवर्षीय ठेक्का गर्ने सहमति प्राप्त भएको थियो। त्यसपछि मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका सम्पूर्ण कार्यहरू गरी २०८१ फागुन १ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको थियो। २०८१ चैत १० मा बोलपत्रहरूको प्राविधिक प्रस्ताव खोलिएकोमा प्रस्तावहरूको मूल्यांकन गरी २०८२ असार २ मा बोलपत्रको आर्थिक प्रस्ताव खोलिएको थियो। बोलपत्रहरूको मूल्यांकन सम्पन्न गरी २०८२ असार २४ मा सडक विभाग, मदन भण्डारी राजमार्ग निर्देशनालय र निर्माण व्यवसायी श्री दिवा – बन्दन भगवति जेभी बीच खरिद सम्झौता भएको थियो। हाल सडक निर्माणको काम धमाधम भइ रहेको छ ।

स्तरोरन्नति गर्ने सडक खण्डमा बिजुलिका पोलहरु, टेलिकमका पोलहरु, खानेपानी पाइपलाइनहरु तथा केहि स्थानहरुमा रुखहरु रहेका छन् । यस सडक स्तरोन्नति कार्यको कार्यान्वयनको जिम्मा पाएको सडक डिभिजन दाङबाट २०८२ श्रावण महिनामै सरोकारवाला विभिन्न निकारयहरुमा समन्वयको लागि पत्राचार गरिएको थियो । सडक डिभिजन स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरण, घोराही वितरण केन्द्र तथा तुलसीपुर वितरण केन्द्र अन्तर्गत पर्ने बिजुलीका पोलहरु स्थानान्तरण कार्यको लागि लागत अनुमान तयार गरि स्वीकृतिको लागि पेश भइसकेको र घोराही वितरण केन्द्र अन्तर्गतको फाइल सदर भइ छिट्टै नै स्थानान्तरणको कार्य सुरु हुने र तुलसीपुर वितरण केन्द्रको फाइल स्वीकृतिको लागि प्रक्रियामा रहेको बुझिएको छ । त्यसैगरि डिभिजन वन कार्यालयल घोराहीसँग आवश्यक समन्वय गरी सो अन्तर्गतका अम्विकेश्वरी, नारायणपुर, बिजौरी तथा तुलसीपुर वन सबडिभिजनहरुको मद्दतमा सडक स्तरोन्नति गर्नुपर्ने सडक खण्डमा पर्ने रुखहरुको यकिन विवरण तयार भइसकेको छ । अब छिट्टैनै सो रुखहरुको व्यवस्थापन हुने बताइएको छ ।
हाल निर्माण व्यवसायीलाई निर्माण कार्य गर्नको लागि बिद्युत पोलहरु स्थानान्तरण कार्य तथा रुखहरु व्यवस्थापन नहुनाले कुनै असर परेको छैन । तथापी, सडक डिभिजन दाङको प्राविधिकि टोलि छिटो छरितो सहजीकरण र समन्वयमा रहेको बताइन्छ । सडक डिभिजन दाङ स्रोतका अनुसार स्तरोन्नति कार्यको सहजीकरणमा कुनैपनि कसर बाँकी नराख्ने र योजनाको कार्यप्रगति हासिल गर्न निर्माण व्यवसायीसँग होस्टेमा हैसे गर्ने बुझिएको छ । तर निर्माण व्यवसायीले अपेक्षित रुपमा कार्य प्रगति हासिल गर्न नसकेको गुनासो छ ।



