२४ मंसिर, काठमाडौं । चितवनको करैयामा रहेको नवोदय माध्यमिक विद्यालयको एउटा सानो कोठामा केही महिनाअघिसम्म असाधारण दृश्य देखिन्थ्यो । स्कुल यूनिफर्ममा स–साना हातहरू सावधानीपूर्वक सर्किट बोर्डमा काम गरिरहेका थिए । नजिकैबाट मेन्टरहरू हेरिरहेका ।
कसैलाई थाहा थिएन कि यी साना हातहरूले बनाएको स्याटेलाइट एक दिन अन्तरिक्षमा उड्नेछ । ‘हामीलाई सुरुमा स्याटेलाइट भनेको के हो, केही थाहा थिएन,’ विद्यार्थी अमृत चेपाङ सम्झन्छन्, ‘कम्प्युटर अन–अफ गर्न पनि डर लाग्थ्यो । हामीले कहिल्यै कम्प्युटर चलाएका थिएनौँ।’



तर आज, त्यही अमृत र उनका ८ साथीहरूले बनाएको स्याटेलाइट अन्तरिक्षमा उडिसकेको छ । चीनको उत्तर–पश्चिममा रहेको एक लन्च सेन्टरबाट किनेटिका–१ रकेटमार्फत सफलतापूर्वक प्रक्षेपण भयो, स्लिपर्स टु स्याट।



यसको लागि गत असोजमा नै प्रोजेक्ट म्यानेर इन्जिनियर रिषभ अधिकारीसहित चार सदस्यीय टोली बेइजिङ पुगेर स्याटेलाइटको अन्तिम गुणस्तर परीक्षण, रकेटसँग एकीकरण र वातावरणीय अनुकूलता जाँचको काम सम्पन्न गरेको थियो।
सोही एक किलो २० ग्राम तौलको यो ट्युब आकारको नानो स्याटेलाइट बुधबार बिहान अन्तरिक्ष पुगिसकेको छ । अब त्योसँग सम्पर्क गर्नु इन्जिनियरहरुको मुख्य काम हो । नास्टको ग्राउन्ड स्टेसनको आकाशमा नौ मिनेट भर मात्र उक्त स्याटेलाइट हुन्छ, त्यही समयमा सम्पर्कमा ल्याउनुपर्छ । आफ्नै आकाशमा आएको नौ मिनेटभित्र सम्पर्क हुननसके फेरी अर्को समय कुर्नुपर्छ ।
अहिले यसको निर्माणमा संलग्न भएकाहरुले नास्टको ग्राउन्ड स्टेसनबाट योसँग सम्पर्कको प्रयास गरिरहेका छन् ।

‘हामीले आज (बुधबार) १२ बजे सम्पर्क गर्न खोज्यौँ । तर, पहिलो प्रयास असफल भयो । त्यो नौ मिनेटभित्र हामीले कनेक्सनमा ल्याउन सकेनौँ,’ प्रोजेक्ट म्यानेर रिसभ अधिकारीले भने, ‘अब भरे रातीको १२ बजे फेरी प्रयास गर्छौँ । हाम्रो ग्राउन्ड स्टेसनको आकाशमा रहेको समय (नौ मिनेटभित्रै) त्योसँग सम्पर्क गर्नुपर्छ । भरे पनि भएन भने अर्को १२ बजे कुर्नुपर्छ । यसरी कुनै एउटा १२ बजे हामीले सम्पर्क गर्छौँ, सम्पर्क हुन्छ ।’
यो न्यानो स्याटेलाइट कसरी तयार भयो भन्ने बुझ्न दुई वर्ष पछाडि फर्कनुपर्छ । डिसेम्बर २०२३ मा अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरू तीनवटा स्कुलमा पुगे । लमजुङको भैरव माध्यमिक विद्यालय, चितवनको अन्त्योदय जनजाति आवासीय विद्यालय र मकवानपुरको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा उनीहरूले चार दिने तालिम चलाए ।
करिब १२० जना विद्यार्थीलाई आधारभूत इलेक्ट्रोनिक्स, कम्प्युटर चलाउने र कोडिङ कौशल सिकाइयो । तालिमपछि प्रदर्शन, रुचि र क्षमताका आधारमा अन्तिम १० जनाको समूह छनोट भयो ।

सुरुमा कसैलाई विश्वास थिएन कि यी साना विद्यार्थीले यस्तो जटिल काम गर्न सक्लान् । विद्यार्थीकै आफन्तलाई यसबारे सुनाउँदा रुमानी सपनाजस्तै लाग्यो । यद्यपि, यसमा बाधा भने कसैले पुर्याएन ।
विभिन्न कारणले गर्दा अन्ततः चितवनको नवोदय माध्यमिक विद्यालय परियोजनाको केन्द्र बन्यो । ढुवानी सुविधा, पहुँच र ल्याब संरचनाले त्यो स्थान उपयुक्त बनेको प्रोजेक्ट म्यानेजर रिषभ अधिकारीले बताए । उनकाअनुसार त्यसपछि त्यहाँ विशेष ल्याब बनाइयो, जहाँ तापक्रम–नियन्त्रित सफा कोठा थियो ।
अन्तिम टोलीमा चयन भएका ९ जना विद्यार्थी थिए – अमृत चेपाङ, सुहान प्रजा, रनसिङ प्रजा, बिना माया प्रजा, एलिषा चेपाङ, शीतल प्रजा, सजिना चेपाङ, शिव कुमार चेपाङ र सुमिना तितुङ । तीमध्ये ५ छात्रा र ४ छात्र थिए । छनोटको समयमा यी विद्यार्थी कक्षा ७ र ८ मा पढ्दै थिए ।
त्यसमाथि उनीहरू चेपाङ समुदायका थिए, जो परम्परागत रूपमा चिउरी बेचेर र सामान्य खेतीपाती गरेर गुजारा चलाउँछन् । ‘घरमा बुवा–आमाले त पत्याउनुभएको थिएन,’ विद्यार्थी अमृत सुनाउँछन्, ‘पत्याउनु पनि कसरी ? हाम्रो समुदायको नाम नै अन्तरिक्षसम्म पुग्ने कुरा सपनाजस्तै थियो नि । आजसम्म कम्प्यूटर नदेखेका हाम्रा अभिभावकलाई एउटा मिठो कल्पनाबाहेक केही थिएन ।’
त्यसैले ‘स्लिपर टु स्याट’ अर्थात ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’को थिममा रहेर यस मिसनमा काम गरेको अन्तरिक्ष प्रतिष्ठान नेपालका अभास मास्केले बताएका छन् ।
यी विद्यार्थीलाई मार्गदर्शन गर्न ६ जना मेन्टर थिए – ४ पुरुष र २ महिला इन्जिनियर । छनोट भएका विद्यार्थीहरू नवोदय विद्यालयमा बस्न थाले । प्रत्येक विद्यार्थीलाई छुट्टै वर्कस्टेशन र खाजा दिइयो । स्याटेलाइट निर्माणसम्बन्धि दैनिक सत्रहरू विद्यालय समय पछि बेलुका ५:३० देखि राति ९:०० बजेसम्म चल्थे, जुन काम सोचेजस्तो सजिलो थिएन ।

विद्यार्थीले पनि स्कुलको नियमित पढाइ, गृहकार्य र स्याटेलाइट परियोजनाको जिम्मेवारी एकसाथ सम्हाल्नुपथ्र्यो । यो दिनचर्या १४ महिनासम्म निरन्तर चल्यो।
तर, यो चुनौतीको सामना गर्नु आफैँमा अवसर थियो । चेपाड. विद्यार्थीले सोचेभन्दा पृथक काम र अनुभव लिइरहेका थिए । अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरूले पनि निरन्तर उनीहरुलाई सिकाए, निगरानी गरे।
अचम्मको कुरा, यो क्रम चल्दै गर्दा ती विद्यार्थीको नियमित पढाइको ग्रेड पनि झन सुधार भएको देखियो । ‘हामीले एकदम सरल भाषा र धेरै धैर्यताले सिकायौं,’ परियोजनाका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले बताए, ‘उनीहरूको जिज्ञासा र मेहनतले पनि हामीलाई हौसला दिएको थियो।’
सुरुमा विद्यार्थीलाई इलेक्ट्रोनिक्सका सामान्य सामग्री, क्यामेराबाट फोटो खिच्ने, चित्र बनाउने र कोडिङका आधारभूत ज्ञान सिकाइयो । ‘हामीले विस्तारै कोडिङ र थ्रीडी चित्र बनाउन सिक्यौं,’ विद्यार्थी अमृत चेपाङले सुनाए, ‘सुरुमा सामान्य चित्र बनायौं, पछि थ्रीडी डिजाइनमा काम गर्यौं।’
डेढ वर्षको अवधिमा विद्यार्थीहरूले प्रत्येक भागको जिम्मेवारी पालैपालो सम्हाले । उनीहरूले आवश्यक पर्ने थ्रीडी प्रिन्टिङदेखि कोडिङसम्मका प्राविधिक कामहरू सिके।
स्याटेलाइट निर्माण तीन मुख्य चरणमा भयो।
जुलाई २०२४ मा पहिलो मोडलबाट काम सुरु भयो, जहाँ आधारभूत सर्किट र इन्टरफेसहरू जाँचिए। त्यसपछि अक्टोबर २०२४ को सुरुमा दोस्रो मोडल तयार भयो, जहाँ सर्किट बोर्ड र पूर्ण एसेम्बलीहरूको परीक्षण भयो । अक्टोबर २०२४ को मध्यमा भारतको बैंगलोरमा महत्त्वपूर्ण परीक्षण गरियो । त्यहाँ कम्पन र तापक्रम परीक्षण गरियो, जुन सफल भयो।
तेस्रो र अन्तिम मोडल जनवरी २०२५ मा सुरु भयो, जुन फेब्रुअरी २०२५ को मध्यमा सकियो । त्यसपछि फेब्रुअरीको अन्त्यसम्म रेन्ज टेस्ट र अवधि परीक्षणहरू भए । अप्रिलदेखि मे महिनाको मध्यसम्म लामो अवधिको परीक्षण चल्यो । विद्यार्थी र इन्जिनियरहरूले कमान्ड अपलिंक, टेलिमेट्री डाउनलिंक, पावर र डाटा संकलन निरन्तर जाँचिरहे।

अमृतका अनुसार स्याटेलाइटमा चारवटा मुख्य काम छन् । पहिलो, क्यामेरा मिसन, यसले पृथ्वीको सतहमा पानीको मात्रा र प्राकृतिक अवस्था अध्ययन गर्छ । यो यसअघि नै अन्तरिक्ष पुर्याइएका पहिलो नेपाली स्याटेलाइट ‘नेपालीस्याट वान’ र मुनालकै निरन्तरता हो।
दोस्रो, भूकम्प पत्ता लगाउने प्रणाली । यसमा चारवटा म्याग्नेटोमिटर छन् । यसले भूकम्प आउनुभन्दा केहीअघि पृथ्वीको सतहमा हुने ससाना हलचल पहिचान गर्छ ।
तेस्रो, दिशा नियन्त्रण प्रणाली । यसले चुम्बकको प्रयोगबाट स्याटेलाइटको दिशा नियन्त्रण गर्छ । र चौथो, सूचना प्रसारण प्रणाली, जसले एमेच्योर रेडियो फ्रिक्वेन्सीमा सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्छ।
यी कामका लागि स्याटेलाइटमा कम्प्युटर, पावर सिस्टम र कम्युनिकेसन सिस्टम राखिएको छ। यसरी निर्माण भएको यो स्याटेलाइट सेप्टेम्बर २०२५ को मध्यमा बेइजिङमा फाइनल टेस्टिङ गरियो । किनेटिका–१ मा प्रक्षेपण गर्न पठाउनुअघि यसले कम्पन र तापक्रम परीक्षण गर्नुपर्यो । यसरी क्रमशः निरन्तरको मेहनतपछि असार १५, २०८२ मा स्याटेलाइट निर्माण सम्पन्न भयो।
यही स्याटेलाइट बुधबार चिनियाँ रकेट ‘काइनेटिका–१’ मार्फत् प्रक्षेपण गरियो । स्याटेलाइट प्रक्षेपण भइसकेपछि अब ग्राउन्ड स्टेशनबाट निगरानी र डाटा संकलन सुरु हुनेछ । भूकम्पको पूर्वसूचना, पृथ्वीको पानीको मात्रा र अन्य वैज्ञानिक जानकारीहरू संकलन गर्ने जिम्मेवारी फेरि यी चेपाङ विद्यार्थीकै हुनेछ।
‘मलाई त अब अन्तरिक्ष अनुसन्धानमै काम गर्ने मन छ,’ आफ्नो सपनाको क्षितिज नै फराकिलो भएको बताउँदै अमृत अनलाइनखबरसँग भन्छन्, ‘सुरुमा शिक्षक बन्ने सपना थियो । अब त मलाई यस्तै स्पेसको क्षेत्रमै काम गर्ने इच्छा छ।’
प्रोजेक्ट म्यानेजर अधिकारीकाअनुसार पनि स्लिपर्स टु स्याट एक पाइलट कार्यक्रम हो, जसले नेपालका सरकारी विद्यालयहरूमा अन्तरिक्ष प्रविधि शिक्षा पढाउन सकिन्छ भन्ने देखाउँछ । यस समूहका स्नातकहरूले भविष्यका अन्तरिक्ष प्रतिष्ठान नेपाल वा यस्तै संस्थाका परियोजनाहरूका लागि सल्लाहकार र मेन्टरका रूपमा काम गर्नसक्नेछन्।
चितवनको ग्रामीण क्षेत्रबाट सुरु भएको यो यात्रा आज अन्तरिक्षसम्म पुग्नु नेपालको हकमा ठूलै उपलब्धि मान्नुपर्ने उनले बताए । त्यस्तै, चेपाड. विद्यार्थी र अभिभावक पनि यसलाई लिएर निकै खुसी देखिन्छन्।
‘हामीलाई सुरुमा विश्वासै थिएन, हामी स्याटेलाइट बनाउन सक्छौं भनेर,’ अमृत सुनाउँछन्, ‘झन हाम्रो बुवाआमालाई यी कुरामा विश्वास नै थिएन । तर अहिले ‘तिमीहरूले साँच्चै त्यस्तो बनाएका हौ ?’ भन्नुहुन्छ।’



