‘स्मार्ट कृषि कार्यक्रम’को प्रभाव : अकबरे खुर्सानीमा पाल्पाको रिब्दीकोट आत्मनिर्भर

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाका कृषक इन्द्रराज रायमाझीले परम्परागत जागिर त्यागेर सुरु गरेको अकबरे खुर्सानी खेती अहिले उनको मुख्य आयस्रोत बन्न पुगेको छ । चार÷पाँच वर्ष बुटवलमा सुरक्षा गार्डको जागिर खाएका रायमाझी जागिर छोडेर गाउँ फर्किएपछि कृषि मन्त्रालयअन्र्तगत लुम्बिनी प्रदेशले सुरु गरेको ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ मार्फत खेतीमा जोडिएका थिए ।

सो कार्यक्रममार्फत कृषकलाई पहिलो वर्ष ८५ प्रतिशत अनुदान उपलब्ध भएपछि उनले आफ्नै ३ रोपनी जग्गामा अकबरे खुर्सानी र टमाटर खेती सुरु गरे । प्रारम्भिक सफलतापछि रायमाझीले गत वर्षदेखि स्थानीय कृषक कुन्जु रानासँग मिलेर १६ रोपनी जमीनमा अकबरे खुर्सानी लगाएर उत्पादन थालेका छन् । हाल ठिम्रे कल्याण कृषि सहकारीका अध्यक्षसमेत रहेका उनले यस वर्ष वैशाखमा रोपिएका बिरुवाबाट उत्पादन सुरु गरिसकेका छन् ।

रायमाझीले दैनिक ५० देखि ८० किलोसम्म खुर्सानी टिपेर बजार पुर्याइरहेका छन् । हालसम्म करिब १ लाख ५० हजार रुपैयाँको खुर्सानी बिक्री गरिसकेका उनले मौसम अनुकूल रहे ८ देखि १० लाख रुपैयाँसम्म यो वर्ष आम्दानी हुने विश्वास व्यक्त गरेका छन् ।

उनी र सहकर्मी रानाले १६ रोपनी जग्गामा लगाइएको खुर्सानी खेतीमा ३ लाख रुपैयाँ लगानी गरेका छन् । रायमाझीमात्र होइन अहिले रिब्दीकोटका अधिकांश किसान अकबरे खुर्सानी र मौसमी तथा बेमौसमी सब्जी खेती गरी मनग्य आम्दानी गरिरहेका छन् ।

परम्परागत रुपमा लगाएको खेतीमा जंगली वन्यजन्तु विशेषगरी, बादरले खेती नष्ट गरेपछि आठ वर्षअघि वैकल्पिक खेतीका रूपमा अकबरे खुर्सानी लगाउन सुरु गरिएको थियो । सानो स्तरमा भइरहेको खेतीलाई स्मार्ट कृषि कार्यक्रमले व्यावसायिक उचाइमा पुर्याएको रायमाझीको भनाइ छ । अहिले गाउँपालिकामा मात्रै ५/६ सय घरधुरीले अकबरे खुर्सानी खेती गर्दै वार्षिक करिब १५ देखि १६ करोड रुपैयाँसम्मको आम्दानी गरिरहेका छन् ।

गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले बजारको समस्या छैन । प्रतिकिलो २३० रुपैयाँभन्दा तल बिक्री गर्नु परेमा गाउँपालिकाले नै खरिद गरी यशोदा फुड्स प्रालिमा पठाउने व्यवस्था गरिएको छ । “किसानलाई उत्पादन बेच्न समस्या छैन,” उनले भने, “सम्झौता भएकाले यशोदा फुड्सले जति उत्पादन भए पनि खरिद गर्छ ।”

खुर्सानी खेतीमा मल र विषादीको खर्च कम लाग्ने भएकाले यसलाई लाभदायी मानिन्छ । गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउन गतवर्षै जैविक मल कारखानासमेत स्थापना गरेको छ । अहिले खुर्सानी तथा सब्जी खेतीका लागि पालिकाले मल र बिउमा ५० प्रतिशत छुट दिइने गरिएको प्रवक्ता रायमाझी बताउँछन् ।

केही वर्षदेखि यहाँका केही किसानले वर्षमा दुई सिजनसम्म खुर्सानी खेती गर्न थालेका छन् । यसका लागि उनीहरुले थाई टनेल प्रविधि पनि अपनाएका छन् । बाहिरी किराको प्रकोप रोक्न टनेल उपयोगी भएको उनीहरुको अनुभव छ। प्रवत्ता रायमाझीका अनुसार टमाटर, सिमी, सागसहितको तरकारी खेती गरेर पालिकाभर वार्षिक करिब ३५ करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जोनमार्फत किसानलाई आवश्यक सामग्री र प्रविधि उपलब्ध गराइएको छ । अहिलेसम्म मात्र अकबरे खुर्सानी खेतीलाई प्रोत्साहन गर्न ९९ लाख रुपैयाँभन्दा बढी अनुदान वितरण भएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गणेशप्रसाद यादवले जानकारी दिए ।

हाल रिब्दीकोट गाउँपालिकाभर करिब एक हजारभन्दा बढी किसान अकबरे खुर्सानी खेतीमा संलग्न छन् । वैदेशिक रोजगारी छाडेर फर्किएका धेरै युवाले यसलाई अवसरको खेतीका रूपमा लिएको र गाउँमै रोजगारी सिर्जना भएको स्थानीय कृषक सन्दीप पौडेल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *