काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित ‘आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।देशको समग्र अर्थतन्त्र र व्यवसायबीच स्पष्ट नीतिगत बुझाइ नहुँदा उद्योग तथा व्यवसायीहरू निरन्तर दबाबमा परेको उपाध्यक्ष धमलाको भनाइ थियो । सरकारले उद्योग र व्यवसायको वास्तविक योगदान बुझ्न नसकेको टिप्पणी गर्दै उनले राज्यका अनुगमन तथा कर नीतिहरूले उद्योगीलाई प्रोत्साहन गर्नुको सट्टा थप मानसिक तथा व्यावसायिक दबाब सिर्जना गरेको दाबी गरे ।
उद्योग सञ्चालनका क्रममा अनुगमन, कर तथा नीतिगत व्यवस्थाहरू बारम्बार परिवर्तन भइरहँदा व्यावसायिक वातावरण अस्थिर बनेको धमलाले औंल्याए । नेपालमा कर नीति र सहुलियतहरू वर्षैपिच्छे फेरिने परिपाटीले गर्दा उद्योगीहरूलाई दीर्घकालीन योजना बनाउन निकै कठिन भएको बताउँदै उनले देशमा लगानी भित्र्याउन र बजार बढाउन कम्तीमा ५ देखि १० वर्षसम्म स्थिर कर नीति आवश्यक रहेको माग गरे ।
निश्चित र स्थिर नीतिबिना लगानीकर्ताले उद्योग विस्तार गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले उद्योग सञ्चालनका लागि दीर्घकालीन र स्थिर ब्याजदरमा कर्जा प्रवाह हुनुपर्नेमा जोड दिए । आवासीय घरजग्गा कर्जाको तुलनामा उत्पादनमूलक औद्योगिक कर्जा सहज र दीर्घ अवधिको हुन नसकेकोमा असन्तुष्टि जनाउँदै उनले आन्तरिक उत्पादन क्षेत्रलाई प्रतिस्पर्धी बनाउन २५ देखि ३० वर्षसम्मको स्थिर कर्जा नीति र न्यून ब्याजदरको व्यवस्था हुनुपर्ने धारणा राखे ।
वर्तमान अवस्थामा नेपाली उद्योगहरू विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी ठूलो कठिनाइमा परेको बताउँदै उपाध्यक्ष धमलाले सरकारलाई आन्तरिक उत्पादनमा आधारित उद्योगहरूलाई विशेष संरक्षण नीति दिन आग्रह गरे। उनले देशलाई आत्मनिर्भर बनाउन कच्चा पदार्थमा आधारित उद्योगहरूलाई विशेष कर सहुलियत, भरपर्दो ऊर्जा सुविधा र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।
यसै क्रममा उनले डेरी क्षेत्रको विकास र स्थानीय उत्पादनको खपत बढाउन सञ्चालन गरिएको ‘मोही अभियान’ निकै सफल भएको जानकारी दिए । विभिन्न होटल तथा पार्टी प्यालेसहरूमा मोही उपलब्ध गराउने अभियानले करिब ८० प्रतिशत सफलता हासिल गरेको दाबी गर्दै उनले यस कदमले स्थानीय डेरी उत्पादनको बजार विस्तारमा सहयोग पुग्नुका साथै नेपालीमाझ आन्तरिक उपभोग संस्कृतिको विकास गरेको स्पष्ट पारे ।
विदेशी वस्तुहरूमा आत्मनिर्भरता बढ्दै जाँदा देशको अर्थतन्त्र र पूँजी बाहिरिने गम्भीर जोखिम रहने चेतावनी दिँदै धमलाले स्वदेशी उत्पादनको प्रयोग गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । उनले सरकारले प्रतिस्पर्धी उत्पादन गर्ने स्वदेशी उद्योगहरूलाई विशेष रूपमा प्रोत्साहन गर्दै नीतिगत स्थायित्व र संरक्षणमुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।


