त्रिवि र एयरबसबीच ऐतिहासिक सम्झौता: एयरोस्पेसका विद्यार्थीले अन्तर्राष्ट्रिय इन्टर्नसिपको अवसर पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र विश्वप्रसिद्ध विमान निर्माता कम्पनी एयरबसबीच त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप गराउने सम्बन्धी एक महत्त्वपूर्ण सहमति भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको विशेष उपस्थितिमा यो सम्झौतापत्रमा औपचारिकता प्रदान गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार एवं अनुसन्धानमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन वेस्टरमेयरले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले त्रिविले शिक्षालाई उद्योग र कार्यक्षेत्रसँग जोड्ने कार्यलाई निरन्तरता दिइरहेको बताए । उहाँले यस साझेदारीले विद्यार्थीहरूको प्राज्ञिक विकास मात्र नभई उनीहरूका लागि कार्यक्षेत्रमा अधिकतम अवसर निर्माण गर्न ठूलो भूमिका खेल्ने धारणा समेत व्यक्त गरे ।

त्यस्तै, एयरबसका अध्यक्ष जुर्गेन वेस्टरमेयरले नेपाल युवाशक्तिले भरिएको एक गतिशील देश भएको उल्लेख गर्दै यो ऊर्जा र अवसरलाई देशको समग्र विकासमा सही ढंगले उपयोग गर्नुपर्नेमा जोड दिए ।यस सहमतिले विशेष गरी इन्जिनियरिङ्ग अध्ययन संस्थानमा एयरोस्पेस इन्जिनियरिङ्ग अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष प्रोत्साहन गर्ने र उनीहरूको वृत्तिविकासलाई प्राथमिकता दिने लक्ष्य राखेको छ ।

त्रिवि र एयरबसबीचको यो समन्वयले नेपाली युवा इन्जिनियरहरूमा सैद्धान्तिक ज्ञानका साथै अन्तर्राष्ट्रिय स्तरको व्यावहारिक र प्राविधिक ज्ञान बढाउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।कार्यक्रममा उपस्थित नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले नेपालले नागरिक उड्डयनका क्षेत्रमा गुणात्मक विकास गर्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले यो सम्झौतालाई दुई पक्षबीचको एउटा अत्यन्तै महत्त्वपूर्ण र सकारात्मक प्रारम्भको रूपमा उल्लेख गरे ।

त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक मुकेश डंगोलले उड्डयन क्षेत्र समग्र देशलाई जोड्ने र पर्यटन क्षेत्रलाई विस्तार गर्ने मुख्य आधारस्तम्भ रहेको चर्चा गरे । उहाँले यो संवेदनशील क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवस्थित र व्यावसायिक बनाउँदै नेपाली जनताका आकांक्षाहरूलाई क्रमशः सम्बोधन गर्दै लैजान यस्ता प्राविधिक साझेदारी र दक्ष जनशक्ति उत्पादनले थप मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *