नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघलाई निर्देशन दिएको छ।
क्यान सचिव पारस खड्काले शुक्रबार पत्राचार गर्दै लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय गुरुङमाथि दर्ता भएको अविश्वासको प्रस्तावका लागि आह्वान गरिएको विशेष साधारण सभा स्थगित गर्न भनेका छन्। विशेष साधारण सभा जेठ ३ का लागि बोलाइएको थियो।
राष्ट्रिय खेलकुद परिषदबाट विनियमावली विवाद समाधन नभएसम्म विशेष साधरण सभाको प्रक्रिया स्थगित गर्नका लागि पत्र प्राप्त भएको क्यानले उल्लेख गरेको छ।
साथै क्यानको केन्द्रीय कार्यसमितिमा छलफल तथा निर्णय नभएको हुँदा विनियमावली सम्बन्धी विवाद केन्द्रीय कार्यसमितिबाट निर्णय नभएसम्मलाई अविश्वासको प्रस्ताव सम्बन्धी विशेष साधारण सभाको प्रकृया स्थगित गर्न भनिएको छ।
यसअघि गत चैत २२ गते लुम्बिनी प्रदेशका उपाध्यक्ष विनयराज भण्डारीले अध्यक्ष सञ्जय गुरुङविरूद्ध अविश्वासको पत्र दर्ता गराएका थिए।
अविश्वासको प्रस्ताव दर्ता गर्दा भण्डारीले प्रदेशका बहुसंख्यक सदस्य गुरुङको विपक्षमा भएको हस्ताक्षर पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसमक्ष पेस गरेका थिए।
त्यसको डेढ महिनापछि जेठ ३ गते प्रदेश संघको विशेष साधारभा आह्वान गरिएको थियो।
गुरुङले यो कदम अवैधानिक भएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका थिए। सोही निवेदनपछि परिषदले साधारण सभा रोक्न क्यानलाई पत्राचार गरेको हो।