सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढाउने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढाउने तयारी थालिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गर्ने घोषणा गरेको थियो । अब आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको प्रक्रिया अघि बढाइएको सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले बताए ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडकखण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपाललाई दिने करिब २९ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । बुटवल–पोखरा सडकखण्ड विस्तारको डिपिआर तयार गर्न यो रकम खर्च गरिने उनले बताए ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुटवल–पोखरा सडकखण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए । बिहीबारको विनिमय दरअनुसार उक्त सहयोग रकम २९ करोड २८ लाख रुपैयाँबराबर हुन आउँछ ।
सरकारले पश्चिम नेपालको पहाड र तराई क्षेत्र जोड्ने सिद्धार्थ राजमार्ग निर्माण भएको ५४ वर्षपछि स्तरोन्नतिको तयारी थालेको छ । अहिले एक सय ५८ किमि लामो बुटवल–पोखरा खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो । एआइआइबीको अनुदान सहयोग आयोजना सुधारको तयारीमा खर्च गरिनेछ ।आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा रहेको छ । आयोजनाको कुल लागत पौने २० अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसमा सडक स्तरोन्नतिमा मात्रै १० अर्ब ३८ करोड ७० लाख लाग्ने रुपैयाँ अनुमान गरिएको छ । यसैगरी, प्रस्तावित सुरुङ र भायाडक्ट बनाउन नौ अर्ब ३७ करोड २० लाख लागत अनुमान गरिएको छ ।


