किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत

भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका १० वटै स्थानीय तहले संस्थापक सेयरमार्फत लगानी गर्ने सहमति जनाएका छन् ।

खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आ–आफ्नो भागमा पर्ने सेयर बराबरको रकम लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत हीरामान वाइबाले किमाथाङ्का अरुण आयोजना मुलुककै ठूला जलविद्युत् आयोजनामध्ये एक भएको बताए । उनका अनुसार आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजना ‘जनताको जलविद्युत् आयोजना’ को अवधारणामा आधारित रहेर विकास गरिने वाइबाले जानकारी दिए ।

आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ, जसले स्थानीय तह र नागरिकको सहभागिता तथा स्वामित्व सुनिश्चित गर्ने उनको भनाइ छ ।

छलफलमा परियोजना प्रबन्धक अशोक पण्डितले निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनले आयोजना समयमै सम्पन्न गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यति ठूलो र रणनीतिक महत्वको आयोजना तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताउँदै स्थानीय तह, आयोजना प्रवद्र्धक कम्पनी र केन्द्र सरकारबीचको समन्वयले आयोजना सफल हुने विश्वास व्यक्त गरे ।

अर्ध जलाशय प्रकृतिको यस आयोजनाअन्तर्गत छुम्सुर गाउँ नजिक अरुण नदीमा करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन रहेको छ । बाँध निर्माणपछि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र १०३ लाख घनमिटर पानी अट्ने क्षमताको जलाशय बन्ने जनाइएको छ ।

आयोजनाको विद्युत् गृह भोटखोला गाउँपालिका–२ अन्तर्गत लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी क्षेत्रमा रहनेछ । यसका लागि करिब पाँच हजार ९१८ मिटर लामो र आठ मिटर व्यासको भूमिगत सुरुङ निर्माण गरिने योजना छ । साथै आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । आयोजनाको अनुमानित लागत करिब ९२ अर्ब रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *