सडक विस्तारसँगै सौन्दर्य बढ्यो धनगढी सहरको

कुनै समय साँघुरो सडक, अव्यवस्थित पार्किङ र धुलो–धुवाँले निसासिने धनगढीको मुख्य बजारको स्वरूप अहिले फेरिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुटु मानिने मुख्य सडक चौडा बनेसँगै सहरको सौन्दर्य पनि बढ्दै गएको छ ।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको करिब २.३५ किलोमिटर सडक खण्डमा अहिले कालोपत्रे गर्ने काम सकिएको छ । सडकको दायाँ–बायाँ टलक्क टल्किने साइकल लेन, फराकिलो फुटपाथ र चार लेनको चिल्लो सडक देख्दा स्थानीयबासी खुसी छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको यो आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । सो कार्यालयका प्रमुख दीपक नेगीले आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको बताए ।

Laxmi sunrise bank

‘सडकको मुख्य काम मानिने कालोपत्रे गर्ने काम सकिएको छ । हालसम्मको भौतिक प्रगति हेर्दा करिब ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब मुख्य काम भनेको रोड मार्किङ गर्ने, रङरोगन गर्ने र रेलिङ राख्नेजस्ता फिनिसिङका काममात्र बाँकी छन्,’ उनले भने ।

Shivam Cement
Nabil bank

कार्यालय प्रमुख नेगीका अनुसार हालसम्मको वित्तीय प्रगति करिब ९४ प्रतिशत पुगेको छ । आयोजनाको कुल सम्झौता रकम ५३ करोड ८२ लाख ८३ हजार ९४ रुपैयाँ (भ्याट र भेरिएसन सहित) रहेकोमा हालसम्म ५० करोड ६० लाख ६८ हजार ८० रुपैयाँ खर्च भइसकेको छ ।

‘अब हामीले गर्नुपर्ने भनेको ट्राफिक सेफ्टी मेजरका काम, ड्रेन सफाइ र केही फुटकर काममात्र बाँकी छन्,’ नेगीले थपे, ‘म्याद थप भएर २०८२ फागुनसम्म पुगेको भए पनि निर्माण व्यवसायीले तोकिएको समयभन्दा अगाडि नै काम सक्ने गरी गति बढाएको देखिन्छ ।’

सुरुवाती चरणमा बजेट अभाव र प्राविधिक कारणले काममा केही सुस्तता देखिए पनि पछिल्लो समय निर्माण कम्पनी केएस कन्स्ट्रक्सन प्रालिले कामलाई तीव्रता दिएको थियो । २०८० वैशाख २७ गते (१० मे २०२३) मा सम्झौता भएको यो आयोजनाको काम बिचमा केही समय बजेट सुनिश्चितता नहुँदा अलमलमा परेको थियो ।

यो सडक आधुनिक सहरी मापदण्ड अनुसार ‘स्मार्ट सडक’ को रूपमा विकास गरिएको छ । ‘यो फोर लेनको सडक हो, जसमा प्रत्येक लेन साढे ३ मिटरको छ । पैदल यात्रीका लागि ३.८३ मिटरको फराकिलो फुटपाथ छ भने साइकल यात्रीका लागि २.५ मिटरको छुट्टै साइकल लेन निर्माण गरिएको छ । ढल निकासका लागि १.५ मिटरको ड्रेन बनाइएको छ,’ नेगीले भने ।

यसबाहेक, सडकलाई आधुनिक बनाउन ‘युटिलिटी कोरिडोर’ को अवधारणा लागु गरिएको छ । यो अवधारणा अन्तर्गत खानेपानीको पाइप, बिजुली र टेलिफोनका तारहरू भूमिगत रूपमा बिछ्याइएका छन्, जसले सहरको आकाश तारले जेलिएको कुरूप देखिँदैन ।

निर्माणको जिम्मा पाएको केएस कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुरेन्द्र पालले अब सडकमा रङरोगनको काममात्र बाँकी रहेको जनाए । ‘यो सडक बनाउन एक पटकमात्रै म्याद थप भएको हो । बिचमा बजेट नआउँदा केही समस्या भएर म्याद थप गर्नुपर्‍यो । अहिले कालोपत्रे सकिएको छ । अब पेन्टिङ र सरसफाइ गरेर सडक हस्तान्तरण गर्ने तयारीमा छौँ,’ उनले भने ।

सडकमा बत्ती जडान, हरियाली प्रवर्द्धन र ट्राफिक चिह्नहरू राखिएको छ ।

२०७० सालदेखि नै हुलाकी सडक परियोजना अन्तर्गत यो सडक बनाउने चर्चा चले पनि स्थानीयको अवरोधले काम अघि बढ्न सकेको थिएन ।

२०७९ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ‘ट्राफिक जाम हटाउने’ र ‘धनगढीलाई नमुना सहर बनाउने’ बाचा गरेका थिए । निर्वाचित भएलगत्तै उनले सडकको मध्यभागबाट दायाँ–बायाँ १५–१५ मिटर खाली गराउने अभियान सुरु गरे ।

सुरुमा ४२८ वटा घर तथा संरचना भत्काउनुपर्ने चुनौती थियो । विरोधका स्वरहरू पनि सुनिए, तर मेयर हमाल आफैँ घरदैलोमा पुगेर ‘आज बाटो फराकिलो बनाउनु भोलिको पुस्ताका लागि हो’ भन्दै स्थानीयलाई बुझाउन थालेपछि माहोल बदलियो ।

धनगढीबासीले विकासका लागि स्वतःस्फूर्त रूपमा आफ्ना घरका संरचना भत्काएर सडकलाई जग्गा दिए । विकास गर्न एकजुट हुनुपर्छ भनेर आफूहरूले घर भत्काउन गाह्रो नमानेका स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *