काठमाडौँ । पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्यो । प्राकृतिक ग्यासको भण्डार पत्ता लागेसँगै निकै उत्साहित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राष्ट्रिय समृद्धिको आधार बताएका थिए । उनले मंसिरभित्रै प्राकृतिक ग्यासको परीक्षण तथा उत्पादन थाल्न निर्देशन समेत दिएका थिए ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलन भएपछि मुलुकको सत्ता समीकरण बदलियो । आन्दोलनको जगमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो । चुनाव गराउने मुख्य म्यान्डेट पाएको सरकारको ध्यान दैलेखको ग्यास परीक्षण तथा व्यावसायिक उत्पादनमा जान सकेको देखिँदैन ।

कस्तो हुँदैछ उत्पादनको तयारी ?
प्राकृतिक ग्यास परीक्षण तथा उत्पादनको तयारी कस्तो भइरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न खानी तथा भूगर्भ विभागको अवस्था हेरे पुग्छ । उत्पादनको मुख्य आधार मानिएको चिनियाँ प्राविधिक टोलीको अन्तिम प्रतिवेदन विभागमा एक महिनाअघि बुझाइसकेको छ । तर प्रतिवेदन आएको महिनौँ दिनसम्म पनि त्यसभित्र के छ विभागले पल्टाएको छैन । रातोपाटीसँग विभागका प्रवक्ता धर्मराज खड्काले भने, ‘उहाँहरूले ड्राफ्ट रिपोर्ट कात्तिकमै बुझाउनुभएको हो, तर त्यो अहिले पनि रिभ्यु (पुनरवलोकन) गरिएको छैन । त्यसैले रिपोर्टमा के छ भन्ने पनि थाहा छैन ।’

दैलेखको प्राकृतिक ग्यास भेटिएपछि अन्य परीक्षण तथा उत्पादनका लागि कुनै काम अघि नबढेको खड्काले बताए ।
_BQQvOkuXtk.gif)
दैलेखको गर्भमा कति छ ग्यास ?
चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखमा २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरेको ड्रिलिङबाट एउटै कुवामा १ खर्ब १२ अर्ब घनमिटर (११२ क्युबिक किलोमिटर) प्राकृतिक ग्यास रहेको तथ्य फेला पारेको छ । यो परिमाण करिब ३९ लाख ५५ हजार मिलियन क्युबिक फिट बराबर हो ।

अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकास्थान र जलजले गरी चार स्थानलाई सम्भावित क्षेत्र मानिएको थियो । जलजलेको एक कुवाको नतिजालाई आधार मान्दा चारै क्षेत्रमा गरी ४ खर्ब ३० अर्ब घनमिटर ग्यास हुन सक्ने प्रारम्भिक अनुमान छ । विज्ञहरूका अनुसार यो भण्डारले नेपालको ग्यास र इन्धनको माग ५० वर्षसम्म धान्न सक्छ ।
उत्पादनपछिको निगमको योजना प्रतिवेदनमै सीमित
खानी विभागको ढिलासुस्तीका बिच नेपाल आयल निगमले भने ग्यासको उपयोगसम्बन्धी मोडालिटी तयार पारेको थियो । निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा ग्यास उत्खननपछिको आर्थिक सम्भावना औंल्याइएको छ ।

निगमको अध्ययनले दैलेखको ग्यास प्रयोग गरी वार्षिक ७ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिने, २०० मेगावाट क्षमताको विद्युत् आयोजना चलाउन सकिने र यातायातमा सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) को प्रयोग बढाउन सकिने निष्कर्ष निकालेको थियो । साथै सरकारले बाटो खोलिदिए उक्त ग्यास परीक्षण तथा उत्पादन र वितरणको नेतृत्व निगमले लिन तयार भएको निष्कर्षसहितको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो ।
तर उक्त प्रतिवेदनको प्रतिक्रिया नआएको नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायले बताएका छन् । ‘निगमको तर्फबाट मन्त्रालयमा प्रतिवेदन पेस गरिसकेका छौँ,’ उनले भने, ‘त्यसपछि थप के भएको छ भन्ने जानकारी छैन ।’


