गाउँपालिकाले बनायो ५ वटा मोटरेबल पक्की पुल

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाहरूलाई जोड्नका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ ।

आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर गाउँपालिकाले निर्माण सम्पन्न गरेको पक्की पुलको शनिबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।

लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएको छ । बाँकी २ वटा पुलको शनिबार उद्घाटन गरिएको हो । मनहरी–३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित पुलको सांसद बानियाँले उद्घाटन गरेका हुन् ।

८ दशमलव ४० मिटर चौडाइ र ९० मिटर लम्बाइको ३ स्पानको ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो । त्यस्तै, ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो ।

३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो । सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साबिकको हाँडीखोला गाविसका किसानको कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

पुल उद्घाटन गर्दै प्रदेशसभा सदस्य बानियाँले पुल निर्माणसँगै हाँडीखोलाका कृषि उत्पादन सहज रूपमा बजारमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लामिटार–चकरी–मकरी पदमपोखरी सडक स्तरीकरण र कालोपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने बानियाँले विश्वास व्यक्त गरे । चकरीबाट हेटौंडा–१३ पदमपोखरी जोड्ने पुल निर्माण गर्नको लागि पनि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने बानियाँले प्रतिबद्धता जनाए । संघीयता र गणतन्त्र आएपछि धेरै विकासका कामहरू भएको भन्दै उनले वर्तमान व्यवस्था जनताको हितमा रहेको दाबी गरे ।

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । अब सडक स्तरीकरणमा आफूहरूले ध्यान दिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *