मोरोक्कोले फिफा अरब कप २०२५ को उपाधि जितेको छ। बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले पराजित गर्यो।
खेलको सुरुवातमै मोरोक्कोले अग्रता लिएको थियो । त्यसपछि जोर्डनले २ गोल फर्काएर अग्रता लिएपनि मोरक्कोले फेरि बराबरी गरेर अतिरिक्त समयमा विजयी गोल गरेको हो ।



खेलको चौथो मिनेटमा उस्सामा तानानेले मध्य मैदान नजिकैबाट गरेको लामो प्रहार गोलमा परिणत हुँदै मोरोक्कोलाई खेलमा अघि बढाएका थिए ।
पहिलो हाफपछि भने जोर्डनले उत्कृष्ट पुनरागमन गर्यो। दोस्रो हाफ सुरु भएको केही मिनेटमै अली ओलवानले हेडरमार्फत बराबरी गोल गरे। त्यसपछि ६८औं मिनेटमा ह्यान्डबलका कारण पाएको पेनाल्टीमा ओलवानले नै गोल गर्दै जोर्डनलाई २–१ को अग्रता दिलाए।



खेल अन्त्यतिर मोरोक्कोका लागि अब्देर्राजाक हम्दल्लाह नायक बने। उनले ८८औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए र खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको १००औं मिनेटमा हम्दल्लाहले फेरि गोल गर्दै मोरोक्कोलाई ३–२ को जित दिलाए।
यस जितसँगै मोरोक्कोले आफ्नो पाँचौं सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जितेको हो। यसअघि मोरोक्कोले सन् २०१२ मा पनि यो प्रतियोगिता जितेको थियो।


