यी ३ कम्पनीका सेयरमा किन आकर्षित छन् लगानीकर्ता?

गत साता सेयर बजारमा २१ अर्ब रूपैयाँको कारोबार हुँदा तीन कम्पनीको मात्रै ८.२७ प्रतिशत बराबरको कारोबार भयो।

यी कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको ६६ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ५७ करोड र ङादी हाइड्रोपावरको ५५ करोड रूपैयाँको कारोबार भएको हो।

हिमालयन रिइन्स्योरेन्सले यस वर्ष दिएको ४.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भइसकेको छ। बोनस सेयर समायोजनपछि एक हजार रूपैयाँ मूल्यबाट एकै दिनमा आठ सय ७८ रूपैयाँमा कारोबार हुन थालेको कम्पनीको मूल्य अहिले आठ सय २५ रूपैयाँ हाराहारी छ।

कम्पनीको सेयरमा आकर्षण कायम रहिरहनुमा मुख्य कारण कम्पनीबाट हकप्रद जारी हुन सक्ने सम्भावना पनि हो।

कम्पनीले नियामक बीमा प्राधिकरणको निर्देशन अनुसार एक वर्षभित्रमा चुक्तापुँजी २० अर्ब रूपैयाँ पुर्‍याउनुपर्ने हुन्छ। यही कारण पनि लामो समयदेखि यस कम्पनीको सेयरमा आकर्षण छ। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड रूपैयाँ छ।

Laxmi bank

यद्यपि सरकारी लगानीको अर्को बीमा कम्पनी नेपाल पुनर्बीमामा सरकारले हकप्रदको रूपमा थप लगानी गर्न अनिच्छा देखाइरहेको बुझिएको छ। यसो भएमा हिमालयन रिइन्स्योरेन्सलाई पनि तोकिएकै समयमा चुक्ता पुँजी पुर्‍याउनुपर्ने दबाब नहुन सक्छ।

वित्तीय विवरण केलाउँदा कम्पनीको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नाफा २२ करोडबाट बढेर २४ करोड रूपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी नौ रूपैयाँ १३ पैसा छ भने प्रतिसेयर नेटवर्थ एक सय ५५ रूपैयाँ छ। बजारमा कम्पनीको सेयर आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीमा आकर्षण बढ्नुमा पनि हकप्रद सेयर नै मुख्य कारण हो।

कम्पनीको गत चैतमा सम्पन्न साधारण सभाले ०.६५ प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको थियो। कम्पनी अहिलेसम्म धितोपत्र बोर्डमा सेयर निस्कासन अनुमति माग्दै भने पुगेको छैन। यद्यपि हकप्रद प्रस्तावकै कारण कम्पनीको सेयरमा आकर्षण बढेको हुन सक्ने देखिन्छ।

Ncell

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा भने कम्पनीको नाफा तीन करोडबाट घटेर एक करोड ९१ लाख रूपैयाँमा भएको छ। कम्पनीको प्रति सेयर आम्दानी एक रूपैयाँ छ भने प्रति सेयर नेटवर्थ एक सय नौ रूपैयाँ छ। बजारमा कम्पनीको सेयर पाँच सय ६९ रूपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय ङादी हाइड्रोपावर सोमबारदेखि दैनिक रूपमा सबभन्दा धेरै रकमको कारोबार हुने कम्पनी बन्न थालेको छ। सोमबार एकै दिनमा ५५ करोड रूपैयाँको कारोबार भएको कम्पनीको सेयर मंगलबार ३१ करोड ९२ लाख रूपैयाँको कारोबार भएको छ। बुधबार सबभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा यो दोस्रो भयो। यसको बुधबार १७ करोड रूपैयाँको सेयर कारोबार भयो।

कम्पनीको लगानीमा रहेको अन्य कम्पनीको सेयर बिक्री गर्ने हल्ला चलिरहेकाले पनि ङादी हाइड्रोपावरको सेयर कारोबार बढिरहेको देखिन्छ। कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा तीन कम्पनीमा गरेको लगानी सो समयको बजार मूल्य अनुसार तीन अर्ब रूपैयाँ बराबर रहेको उल्लेख गरेको छ।

कम्पनीले सगरमाथा जलविद्युत, माइखोला हाइड्रो, स्युरी न्यादी पावरमा गरेको लगानी तीन अर्ब ७९ करोड रूपैयाँ बराबर पुगेको उल्लेख गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीको नाफा भने एक करोड ७७ लाख रूपैयाँबाट बढेर दुई करोड १७ लाख रूपैयाँ पुगेको छ।

कम्पनीको प्रति सेयर आम्दानी दुई रूपैयाँ ३५ पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ५५ रूपैयाँ ६५ पैसा छ। बजारमा कम्पनीको सेयर चार सय दुई रूपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *