काठमाडौं, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो ४ बजे एनपिएलको रोमाञ्चक इलिमिनेटर खेल हुँदैछ, जहाँ काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
लिग चरणमा काठमान्डुले तेस्रो र लुम्बिनीले चौथो स्थान हासिल गर्दै प्लेअफमा प्रवेश गरेका थिए। लिगमा यी दुई टोली आमनेसामने हुँदा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।
इलिमिनेटरको विजेता टोलीले मंगलबारको पहिलो क्वालिफायरमा पराजित विराटनगर किंग्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। सो क्वालिफायरको विजेता टोली सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त गर्नेछ। पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिले नै फाइनलमा प्रवेश गरिसकेको छ।

काठमान्डु गोर्खाज
कप्तान करण केसीको नेतृत्वमा मैदान उत्रिने काठमान्डुको टोलीमा मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा छन्।
टोलीको प्रशिक्षण भारतका पूर्व नेपाली राष्ट्रिय प्रशिक्षक मोन्टी देशाईले गराइरहेका छन्।

लुम्बिनी लायन्स
लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्दै छन्। टोलीमा उनीसँगै दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समावेश छन्।
लुम्बिनीको प्रशिक्षक भारतका टिनु योहान्नन हुन्।
