समयमा वर्षा हुँदा बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङ जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमा वर्षा भएकाले उत्पादन बढेको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माका अनुसार गत वर्षको तुलनामा यसपटक ८४ दशमलव ४ मेट्रिकटन बढी धान उत्पादन भएको हो। अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष २० हजार ७८४.४ मेट्रिकटन धान भित्रिएको छ।

शर्माले अघिल्लो वर्ष रोपाइँपछि जरा कुहिने रोगका कारण उत्पादन घटेको तर यो वर्ष त्यस्तो क्षति न्यून भएकाले उत्पादनमा वृद्धि देखिएको बताइन्। उनले बागलुङ धान उत्पादनमा अझै आत्मनिर्भर हुन नसकेको उल्लेख गर्दै किसानहरूले मुख्य रूपमा खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी र जडनलगायतका जातको खेती गर्दै आएको जानकारी दिइन्। पछिल्लो समय किसानहरू आइब्रिड जाततर्फ आकर्षित हुँदै गएको पनि उनले बताइन्।

शर्माका अनुसार “धान खेतीप्रति किसानको चासो बढ्दो छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० मेट्रिकटन उत्पादन वृद्धि भएको छ। वर्षा समयमै हुनु र जरा कुहिने रोगको क्षति कम हुनु नै उत्पादन वृद्धिका कारण हुन्। खेती क्षेत्रफलअनुसार उत्पादकत्व सन्तोषजनक छ।”

जिल्लाको पश्चिमी भेग—गलकोट, रेशा, सिगाना, जैदी, छिस्ती—आदिबाहेक अधिकांश क्षेत्रमा सिँचाइ सुविधा नपुग्ने गरेका छन्। तर, यस वर्ष धान भित्र्याउने समयमा भारी वर्षा भए पनि उत्पादनमा कमी नआएको गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीले बताए। उनका अनुसार यो वर्ष अघिल्लो वर्षभन्दा तीन मुरी धान बढी उत्पादन भएको छ।

यस्तै, जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले गत वर्ष १३ मुरी उत्पादन भएको खेतमा यस वर्ष १६ मुरी धान फलेको बताए। गत वर्ष वर्षा ढिलो हुँदा सिँचाइ गर्न नसकिएको तर यस वर्ष यस्तो समस्या नआएको उनले उल्लेख गरे।

बागलुङमा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिन मध्ये ३० हजार ५२३ हेक्टरमा मात्र खेती हुँदै आएको छ। तीमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *