आर्थिक वर्ष ८१/०८२ मा सडक विभागबाट ६ वर्ष यताकै सबैभन्दा बढी ७५.३८ % पूँजीगत खर्च

गत आर्थिक वर्ष २०८१/०८२ मा सडक विभागले पूँजीगत खर्चमा सुधार गरेको छ । विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार, विगतका ६ आवको तुलनामा गत आवमा सबैभन्दा बढी पूँजीगत खर्च भएको हो ।

गत आवमा विभागलाई प्राप्त विनियोजित बजेटमध्ये सवैभन्दा बढी ७५.३८ प्रतिशत पूँजीगत खर्च भएको हो । त्यस्तै, विभागको कुल ५८ वटा बजेट उपशिर्षक मध्ये २४ वटा बजेट उप शिर्षकमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । मन्त्रालयअन्तर्गतको ९० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने निकाय सडक विभाग नै हो ।

गत आवमा सडक विभाग र विभागमातहत गरी कुल १ खर्ब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये विभागले उक्त आवमा विगत ६ वर्षयताकै सवैभन्दा बढी पूँजीगत खर्च गरेको हो ।

विगतमा सरकारले पूँजीगत खर्च गर्न नसकेको आरोप लाग्दै आएकोमा गत आवमा भने विभागले पूँजीगत खर्चमा सुधार गरेको हो । विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार, सडक बोर्डसहित गत आवमा विनियोजन भएको बजेटमध्ये १ खर्ब १ अर्ब ८७ करोड रुपैयाँ अर्थात ७५.३८ प्रतिशत खर्च भएको हो ।

अघिल्ला ६ आवको खर्चको अवस्था कस्तो ?

विभागले विगत ६ आर्थिक वर्षको पूँजीगत खर्चमा त्यति सुधार गर्न सकेको थिएन् । विवरण हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा कुल विनियोजित बजेटको ७३.१५ प्रतिशत खर्च भएको थियो ।

त्यसपछि आव २०७६/०७७ मा पूँजीगत खर्च निकै घटेको देखिन्छ । सो आवमा ५४ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । त्यस्तै, आव २०७७/०७८ मा ६४.६८ प्रतिशत, आवमा २०७८/०७९ मा ५१.६० प्रतिशत, आव २०७९/०८० मा ६६.४७ प्रतिशत र आव २०८०/०८१ मा ६९.९७ प्रतिशत खर्च भएको देखिन्छ ।

विभागअनर्गत नै ठूला रणनीतिक राजमार्ग, पुल र राष्ट्रिय गौरवका सडक राजमार्गहरुको निर्माण हुँदै आएको छ । सवै आयोजनालाई पर्याप्त बजेट दिने हो भने प्रगति राम्रो हुँदै जाने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।  कुनै आयोजनामा बजेट नहुने र अर्को आयोजनाबाट पैसा रकमान्तर गर्न नसक्दा एकनासको प्रगति नहुने उनको भनाइ छ ।

‘पर्याप्त बजेट सबै आयोजनालाई दिने हो भने एकखालको खर्चको प्रगति राम्रो आउँछ । होइन भने एकनासको प्रगति हुन सक्दैन् । गत आवमा पुल निर्माणमा खर्चको अवस्था राम्रो भयो । सबै बजेट खर्च भयो । तर, त्यही हुलाकी राजमार्गमा पैसा सकियो । थप बजेटको अभाव देखियो,’ शर्माले भने । उनका अनुसार, ठूला आयोजनाका ठेक्काहरु बहुवर्षीय,साना तथा मध्यम आयोजनाहरु सालबसाली बजेट विनियोजन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *