अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय (नेपाल) को तर्फबाट नवनियुक्त प्रधानमन्त्रीज्यूलाई अपिल गर्दै अन्तराष्ट्रिय सम्बन्ध र कुटनीतिका ज्ञातालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिन आव्हान गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा अध्ययन, अनुसन्धान तथा अभ्यासमा संलग्न विज्ञहरुको तर्फबाट गरिएको आव्हानको पूर्ण पाठ :
नेपालको आन्तरिक राजनीतिको पछिल्लो घटनाक्रमप्रति अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरेका विज्ञ र सोही क्षेत्रमा लामो समय कार्य गरिसकेका अनुभवी जनशक्तिको साझा मञ्चका रूपमा यो समुदाय लोकतन्त्र, सुशासन र संस्थागत उत्तरदायित्वका विषयमा सधैं सजग रहँदै आएको छ।

Gen-Z का नाममा हालै सम्पन्न आन्दोलनले भ्रष्टाचार उन्मूलन, सिण्डिकेट तोडफोड र नयाँ पुस्ताको भावनालाई अभिव्यक्त गर्ने महत्वपूर्ण एजेन्डा अघि सारेको थियो। तर, आन्दोलनका क्रममा तत्कालीन सरकारको तर्फबाट भएका हिंसात्मक दमन र त्यसैको आडमा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिप्रति हामी गहिरो दु:ख प्रकट गर्दछौं।
यस संवेदनशील परिस्थितिमा ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारीका साथ प्रधानमन्त्री पदभार ग्रहण गर्नुभएकी पूर्व प्रधानन्यायाधीश सम्माननीय सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ। आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गरी निर्वाचित जनशक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कठिन तर ऐतिहासिक यात्रामा सफलताको शुभकामना व्यक्त गर्दछौं। साथै, नेपालले आफ्नो राजनीतिक मार्गनिर्धारणमा कुनै पनि प्रकारको बाह्य हस्तक्षेपलाई निरुत्साहित गर्दै, आन्तरिक शक्ति र साझेदारबीचको संवाद र सहकार्यमार्फत् समाधान खोज्नुपर्नेमा हामी दृढतापूर्वक जोड दिन्छौं।
हाम्रो प्रष्ट मान्यता छ; देश विज्ञहरूले नै चलाउनुपर्छ र सम्बन्धित क्षेत्रमा विषयगत दक्षता हासिल गरेका व्यक्तिहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्छ। नवनियुक्त प्रधानमन्त्रीज्यूले पनि विज्ञताको महत्त्व गहिरो रूपमा बुझेको हामीलाई विश्वास छ। यस कारण नयाँ मन्त्रीपरिषद् गठनमा विज्ञतालाई मूल आधार बनाउन र विशेषतः परराष्ट्रमन्त्रीको पदमा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति वा राजनीतिकशास्त्रमा उच्च योग्यता प्राप्त तथा जीवनभर यसै क्षेत्रमा संलग्न दक्ष व्यक्तिलाई नियुक्त गर्न हामी हार्दिक अनुरोध गर्दछौं।
नेपालको परराष्ट्र नीति जटिल, बहुआयामिक र दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ। त्यसैले यसलाई व्यावसायिकता, अनुभव र सैद्धान्तिक गहिराइका आधारमा अघि बढाउनु आजको अपरिहार्य आवश्यकता हो। अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिकशास्त्रका विशेषज्ञहरूले मात्र यस्ता संवेदनशील मुद्दा बुझ्न र तिनको समाधान पहिल्याउन सक्ने भएकाले यही बाटो अपनाउनु नै राष्ट्रहितमा एक मात्र व्यावहारिक विकल्प हो भन्नेमा हामी दृढ विश्वास गर्दछौं।
हामी आशावादी छौं: योग्य विज्ञहरूको सहभागिता र सुझपूर्ण दृष्टिकोणका साथ नेपालको परराष्ट्र नीति स्थिर, प्रभावकारी, साझा हितमा उन्मुख र दीर्घकालीन राष्ट्रिय लाभअनुकूल बन्न सक्नेछ।
२८ भाद्र २०२५
~अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय (नेपाल)


