Gen Z को प्रदर्शन अनियन्त्रित, प्रशासन सतर्क हुन नसक्दा १९ युवाको मृत्यु

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने पछिल्लो निर्णयविरुद्ध सोमबार देशभर जेन–जी पुस्ताले आक्रोशसहित प्रदर्शनमा १८ जनाको मृत्यु भएसँगै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । प्रदर्शन देशव्यापीरुपमा स्वस्फूर्त रूपमा भएको थियो ।

राजधानीसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आन्दोलन स्थल क्षणभरमै रणमैदानझैं बनेको थियो । राजधानीसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि १८ जनाको ज्यान गएको हो भने २२ जना गम्भीर घाइते भएका छन् ।

सयौंको संख्यामा प्रदर्शनकारी घाइते भएका छन्, जसलाई काठमाडौंका ट्रमा सेन्टर, सिभिल हस्पिटल, काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनलाई अराजकतावादी र प्रतिगमनकारीको घुसपैठ भएको भन्दै विवादास्पद टिप्पणी गरेका छन् । तर, प्रदर्शनकारीहरूले भने आफ्नो आन्दोलन पूर्ण रूपमा स्वतःस्फूर्त र सामाजिक सञ्जाल बन्द गर्ने कदमविरुद्ध भएको स्पष्ट गरेका छन्।

प्रदेश र जिल्लामा तनावपूर्ण स्थिति
झापाको दमकमा भएको प्रदर्शनमाथि प्रहरीले गोली प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा प्रधानमन्त्रीको पुत्लासमेत जलाइएको थियो। झापाकै विर्तामोडमा भएको उग्र प्रदर्शन नियन्त्रणमा लिन प्रहरीलाई हवाइ फायर गर्नुपरेको थियो।
कोशी प्रदेशको राजधानी विराटनगरमा निषेधाज्ञा तोडेर प्रदर्शन गर्दा प्रदर्शनकारी र प्रहरीले पटक–पटक आमनेसामने भएका छन्।

पोखरामा भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्दै आन्दोलनबीचमा अवरोध सिर्जना भएको थियो। स्थिति नियन्त्रणबाहिर जाने सम्भावना देखिएपछि प्रशासनले तत्काल कफ्र्यू जारी गरेको छ। चितवनमा जेन–जीले निषेधाज्ञा तोड्दै भरतपुर प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो। भिड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिएको थियो।

सुनसरीमा आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकामा आगजनी गरेका थिए। सुरक्षाकर्मीहरूले हवाइ फायर गरी भिड तितरबितर पारेका थिए। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिउँसो ३ः३० बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू आदेश जारी गरेका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा भने जेन–जी पुस्ताले तुलनात्मक रूपमा शान्तिपूर्ण आन्दोलन गरेका छन्। मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनलाई कोण सभामा परिणत गरिएको थियो। विरगञ्ज, रुपन्देही र बुटवलमा पनि उग्र प्रदर्शन भएको छ। बुटवलमा प्रशासनले कफ्र्यू आदेश जारी गरे पनि आन्दोलनकारीहरू सडकमा उत्रिएका छन्। प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीसँग झडप भएको छ।

महानगरपालिका खट्यो उद्धारमा
राजधानीमा आन्दोलन क्षणभरमै हिंसात्मक बनेपछि महानगरपालिकाले उद्धारका लागि नगर प्रहरी खटाएको छ। घाइते प्रदर्शनकारीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउने, खानेपानी र खाद्य व्यवस्थासमेत महानगरले गरेको जनाएको छ।

समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड
यस्तै, प्रदर्शनकारीले आलोकनगरस्थित एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड गरेका छन्। भवनका झ्यालका सिसा फुटेका छन् भने कार्यालय अव्यवस्थित बनेको छ। काठमाडौंको सिभिल अस्पताल नजिकै प्रहरीद्वारा प्रहार गरिएको अश्रुग्यास अस्पतालको इमर्जेन्सी कक्षमै प्रवेश गर्दा बिरामी र स्वास्थ्यकर्मी समेत प्रभावित भएका छन्।

मानव अधिकार आयोगको चेतावनी
आज भएको आन्दोलन र त्यसक्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोगप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै सरकारलाई अत्यधिक बल प्रयोग नगर्न आग्रह गरेको छ।

साथै, पछिल्लो पुस्ताको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने आयोगको भनाइ छ। आयोगले विभिन्न सहरमा आफ्ना टोलीमार्फत अनुगमन थालेको जनाएको छ। तर अनुगमन टोलीले सवारीसहित आन्दोलनस्थलमा पुग्दा उनीहरूमाथि समेत हिंसात्मक आक्रमण भएको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *