काठमाडौं । देशभर जेनजी पुस्ताले आज विभिन्न सहरमा एकसाथ प्रदर्शन गरेका छन्। काठमाडौंसहित पोखरा, बुटवल, विराटनगर, बिरगञ्ज, चितवनलगायतका मुख्य सहरहरूमा युवाहरू ठूलो संख्यामा सडकमा उत्रिएर विरोध प्रकट गरेका हुन्।
काठमाडौंमा प्रदर्शन माइतीघर मण्डलाबाट शुरू भएर बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्रसम्म फैलिएको छ।
ठूलो संख्यामा युवाहरूको सहभागिता भएपछि सडकको दुवै लेन अवरुद्ध बनेको छ। यसैबीच, बढ्दो भीडलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर, माइतीघर, बबरमहललगायतका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
पोखरामा सार्वजनिक रूपमा सूचनामार्फत प्रदर्शन आयोजना गरिएको हो । विराटनगरमा स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा समर्थन जनाउँदै सडकमा उत्रिएका थिए। यस्तै, बुटवल, चितवन, बिरगञ्जलगायतका सहरमा पनि युवाहरूले नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्।

जेनजी पुस्ता र उनीहरूको असन्तोष
सन् १९९७ देखि २०१२ बीच जन्मेका युवाहरूलाई ‘जेनजी’ भनेर चिनिन्छ। यो पुस्ता डिजिटल युगमै हुर्किएको पुस्ता हो—सामाजिक सञ्जाल, प्रविधि र सूचना सञ्जालसँग द्रुत रूपमा गाँसिएको। उनीहरूको विचार र जीवनशैली गत पुस्ताभन्दा फरक छ, र यही कारण उनीहरूले समाज र राज्यसँगको सम्बन्ध पनि नयाँ दृष्टिकोणले हेरेका छन्।
आजको प्रदर्शन मूलतः दुई कारणमा केन्द्रित छ,सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी र बढ्दो भ्रष्टाचार। जेनजी पुस्ताका दृष्टिमा सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्वतन्त्र अभिव्यक्ति, सीप प्रदर्शन, रोजगारी र उद्यमशीलताको बाटो पनि हो। त्यसैले सामाजिक सञ्जालमाथिको नियन्त्रण उनीहरूको स्वतन्त्रतालाई दबाउने प्रयासका रूपमा व्याख्या गरिएको छ।
यस्तै, राज्य संरचनामा मौलाएको भ्रष्टाचार र पारदर्शिताको अभाव पनि उनीहरूको मुख्य असन्तोष हो। राज्यमा जिम्मेवारी र जवाफदेहिताको कमीले गर्दा युवाहरू निराश भएका छन्। यही निराशा सडकमा आक्रोशका रूपमा प्रकट भएको हो।
सामाजिक सञ्जालबाट सडकसम्म
जेनजी पुस्ताको एउटा विशेषता भनेकै उनीहरूको संगठन क्षमता हो। उनीहरूले औपचारिक राजनीतिक दल वा नेतृत्व बिना नै सामाजिक सञ्जालमार्फत आह्वान गरेर हजारौंलाई सडकमा उतार्न सके। यो घटनाले नयाँ पुस्ता आफूले चाहेको खालको आन्दोलन सञ्चालन गर्ने सामर्थ्य राख्छ भन्ने स्पष्ट गरेको छ।

सरकार र समाजका लागि सन्देश
देशभर एकैसाथ प्रदर्शन हुनु केवल असन्तोषको विस्फोट मात्र होइन, नयाँ पुस्ताले पुरानो राजनीतिक व्यवस्थालाई प्रश्न गरिरहेको सङ्केत पनि हो। सरकारले तत्काल सुरक्षा संयन्त्र र कफ्र्यू आदेशमार्फत परिस्थिति नियन्त्रण गर्ने प्रयास गरे पनि दीर्घकालीन समाधानका लागि युवाहरूको माग सुन्नुपर्ने देखिन्छ।
विज्ञहरु भन्छन्, जेनजी पुस्ताको आवाजलाई नजरअन्दाज गर्दा राज्य र नागरिकबीचको दूरी अझ बढ्ने सम्भावना छ। उनीहरूको मागलाई व्यवस्थित संवाद र नीतिगत सुधारमार्फत सम्बोधन नगरे नेपालमा राजनीतिक अस्थिरता र सामाजिक खाडल अझ गहिरिन सक्छ।