काठमाडौंको नयाँ बानेश्वर वरपर कर्फ्यू घोषणा

काठमाडौं । सोमबार दिउँसोदेखि राजधानीको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा कारण देखाउँदै दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार प्रदर्शन तीव्र भएपछि अवस्था नियन्त्रणमा लिन कर्फ्यूको निर्णय गरिएको हो।

आदेश जारी गर्नु अघि उनले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमै रहेका गृहमन्त्री लेखकले सुरक्षालाई प्राथमिकता दिँदै कर्फ्यू लगाउन सिफारिस गरेका थिए। सोमबार ‘जेनजी’ पुस्ताका युवाहरूले काठमाडौंमा प्रदर्शन गर्दा केही प्रदर्शनकारी संघीय संसद भवन परिसरमै प्रवेश गरेका थिए। त्यसपछि प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहरा र अश्रुग्यास प्रयोग गरेको थियो।

जिल्ला प्रशासनले तोकेको कर्फ्यू क्षेत्र बानेश्वर चोकलाई केन्द्र बनाएर चारै दिशामा फैलिएको छ। पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वतर्फ मिन भवन–शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माविसम्म र दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश लागू गरिएको छ।

सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवाहरूलाई ‘जेनजी’ भनिन्छ। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी तयारी र बढ्दो भ्रष्टाचारविरुद्ध उनीहरूले काठमाडौंसहित पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा आज प्रदर्शन गरेका छन् ।

जेनजीहरूले माइतीघर, बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सो एरियामा सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *