नेपाल आउने पर्यटकमा भारत पहिलो स्थानमा, २२ प्रतिशतले बढे पर्यटक

काठमाडौं । कोभिड–१९ महामारीपछिको थला परेको नेपालको पर्यटन क्षेत्र बिस्तारै पुनः सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अगस्ट महिनामा मात्र ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन् । यो तथ्यांक विगत वर्षको सोही महिनाको तुलनामा करिब २२ प्रतिशतले बढी हो, जसले पर्यटन व्यवसायीलाई उत्साहित पारेको छ ।

नेपाल आएका पर्यटकमध्ये भारत अझै पनि पर्यटकको प्रमुख स्रोत देश बनेको छ । अगस्टमा मात्र भारतीय पर्यटक ३५ हजार ५०५ नेपाल भित्रिएका छन्, जुन कुल आगमनको करिब ४० प्रतिशत हो । भौगोलिक निकटता, धार्मिक तथा सांस्कृतिक सम्बन्ध र हालै एयर इण्डिया एक्सप्रेसले नेपालमा आफ्नो उडान थपेपछि भारतीय पाहुनाको संख्यामा उल्लेख्य वृद्धि भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताए ।

भारतपछि नेपाल भ्रमण गर्नेमा दोस्रो ठूलो देशमा चिन रहेको छ । चीनबाट यो अगष्ट महिनामा मात्र ७ हजार ५३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसैगरी अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

एक महिनामा मात्र नभई समग्रमा पनि नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएको देखिन्छ । सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा जम्मा सात लाख ३६ हजार ५६२ विदेशी पर्यटक नेपाल आएका छन् । यस अवधिमा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ४७ हजार १३७ अर्थात ५३ प्रतिशत पर्यटक आएका छन् । यसबाहेक एसियाका अन्य मुलुकबाट १५ हजार ७७७, युरोपबाट ११ हजार १३२, ओसनियाबाट २ हजार ४३५ पर्यटक आएका छन् । अमेरिकाबाट आठ महिनामा ७ हजार २९३,मध्यपूर्वबाट ९४४, अफ्रिकाबाट ३२२, र अन्य मुलुकबाट ३ हजार ६४० पर्यटक नेपाल आएका छन् ।

पछिल्ला महिनाहरूमा विदेशी पाहुनाको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सन् २०२५ को जुलाई महिनामै ७० हजार १९३ पर्यटक नेपाल आएका थिए भने अगस्टमा उक्त संख्या बढेर ८८ हजार नाघ्नु पुनः पर्यटन उद्योगका लागि खुसीको कुरा भएको पर्यटन व्यवसायीको भनाइ छ ।

नेपालको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन गतिविधि, धार्मिक तथा सांस्कृतिक सम्पदाले सधैं विदेशी पाहुनालाई आकर्षित गर्दै आएको छ । आगामी महिनाहरूमा ‘भिजिट नेपाल’ अभियानलाई पुनः सक्रिय बनाउने तयारी, नयाँ अन्तर्राष्ट्रिय उडानहरूको आगमन र भौतिक संरचना तथा सेवामा सुधार हुने अपेक्षाले यो वृद्धिलाई दीर्घकालीन रुपमा थप टेवा पुर्याउने विश्वास पर्यटन विज्ञहरूले व्यक्त गरेका छन् ।

नेपाल, जसलाई विश्वले हिमालको देश मात्र नभई संस्कृति र अध्यात्मको भण्डारका रूपमा चिन्छ, अहिले फेरि एकपटक पर्यटकहरूको रोजाइमा फर्किंदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *