दशै अघि सडकका खाल्डाखुल्डी मर्मत गर्ने तयारी सुरु

काठमाडौं । सडक विभागले यस वर्ष पनि दशैं नजिकिँदै गर्दा देशभरका राजमार्ग र शहरी सडकका खाल्डाखुल्डी मर्मत गर्ने काम अघि बढाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार दशैंमा सहज होस भनेर सडक मर्मत कार्य तीव्र पारिएको बताए। ‘अहिले कहाँ कहाँ खाल्डा छन् भनेर देशभरमा सडक विभाग मातहतका सडकहरुको पहिचान गर्ने काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न कठिन हुन्छ, तर दशैंअघि सडक सम्याउने प्रयास भइरहेको छ,’ उनले बताए।

अन्य निकायले सडक खनेर समयमै बन्दोबस्त नगर्दा समस्या बढेको र यसलाई नियन्त्रण गर्न कडाइ आवश्यक रहेको उनको भनाइ छ। प्रत्येक वर्ष जस्तै यो पटक पनि दशैं अघि नियमित मर्मत सम्भारका काम गरिँदै छ। तर, यसका लागि छुट्टै बजेट नहुने विभागले जनाएको छ। नेपालमा सडक विस्तार ठूलो संख्यामा भए पनि मर्मतका लागि पर्याप्त रकम अभाव रहेको तथ्यांकले देखाउँछ।

अघिल्लो वर्ष करिब ६ अर्ब रुपैयाँ मर्मत सम्भारका लागि छुट्याइएकोमा यस वर्ष रकम घटेर ३ अर्ब रुपैयाँमा सीमित भएको छ।
विशेषज्ञहरूका अनुसार मर्मतमा पर्याप्त बजेट नहुँदा राज्यले ठूला लगानीमा निर्माण भएका सडकहरू समयमै बिग्रने जोखिम बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *