ओखलढुङ्गा । वर्षौँदेखि बिहान सबेरै उठेर घाम ताप्दै घण्टौँ टाढा पानी खोज्न हिँड्नुपर्ने बाध्यता थियो, टोक्सेलबासीको । महिलाले काँधमा गाग्री बोकेर उकालो–ओरालो धाउँदै ल्याएको पानी घरधुरी धान्न पर्याप्त थिएन । सरसफाइ, पशुपालन र दैनिक जीवन पानीको अभावसँगै जटिल बन्दै गएको थियो ।
तर अहिले, टोक्सेल गाउँमा नयाँ आशा झरेको छ—सपना जस्तै झर्यो, पानी । मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेलमा २६ लाख लागतमा गरिएको डिप बोरिङ योजना सफल भएपछि बासिन्दाको अनुहारमा खुसी फूटिएको छ । १८० मिटर गहिराइबाट निस्किएको पानी अब गाउँकै आँगनमा ट्यांकीमार्फत घर–घरमा पाइप बिछ्याएर पुर्याइनेछ । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली भन्छन्, “अब टोक्सेलका नागरिकले पानीका लागि आँसु झार्नुपर्दैन, घरघरमा धारा बग्छ ।”
यो योजना अन्तर्गत ७५ घरधुरीमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू हुँदैछ । उपाध्यक्ष आश्रचन राईले बोरिङ कार्य १८० मिटर गहिराइसम्म सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । वर्षौँदेखि धारापानीका लागि संघर्ष गरिरहेका बासिन्दालाई अब सहज हुनेमा वडा अध्यक्ष विष्णुप्रसाद गौतम ढुक्क छन् । प्राविधिक अनुमान अनुसार कम्तीमा ४० वर्षसम्म भूमिगत स्रोत निरन्तर रहनेछ ।
पँधेराटारमा निकालिएको पानीलाई काफलडाँडामा बनेको ठूलो ट्यांकीमा जम्मा गरेर गाउँका विर्ताटोल, दमाइगाउँ, सातसले र जैसीटोलसम्म पु¥याइने तयारी भइरहेको छ । अब टोक्सेलमा पानी ल्याउने यात्रा घण्टौँको होइन—घर आँगनकै धारामा सजिलै झर्ने छ ।