सडक डिभिजन हेटौडाका डिभिजन प्रमुख श्री गुरु प्रसाद अधिकारीका अनुसार पहिरोको कारण अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथमा सवारी सुचारु भएको छ ।
त्रिभुवन राजपथको हेटौडा- काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा २०८२ भाद्र ६ गते रातिदेखि सो सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक विभाग, सडक डिभिजन हेटौडा र हेभी इक्वीपमेन्ट कार्यालय हेटौडाका स्रोत साधनहरूको प्रयोग गरी पहिरो पन्छाएपछि आज दिउसो १२ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रमुख गुरु अधिकारीले जानकारी दिनुभएको छ ।
पहिरो हटाइ सवारी आवागमनमा खटिने सडक डिभिजन र हेभी इक्वीपमेन्ट कार्यालय हेटौडाका कर्मचारीहरुको विषम परिस्थितिको जोखिम कार्यको उच्च प्रसंशा गर्दै यस कार्यमा सहयोग गर्ने अन्य सरोकारवालाहरूलाई सडक डिभिजन हेटौंडा र जिल्ला प्रशासन कार्यालयले धन्यवाद दिएको छ ।
कान्तिलोकपथ अझै अवरुद्व
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक भने अझै अवरुद्ध छ । सो सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
कान्ति लोकपथ योजनाका योजना प्रमुख रत्न लक्ष्मी बज्राचार्यका अनुसार सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको छ र छिट्टै सडक सञ्चालनमा आउनेछ ।
