सहिदमार्गको लमही बजारको सडक अतिक्रमण हटाउन मार्ग प्रशस्त भएको छ। सडक डिभिजन दाङले सहिदमार्गको लमही बजारमा सडक क्षेत्रभित्र पर्ने संरचनाहरु हटाउन पुनः बाटाे खुलेकाे जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन दाङले मिति २०८१ साउन २९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै लमही बजारको सडक क्षेत्रमा पर्ने संरचनाहरु ३५ दिनभित्र हटाउन सूचना जारी गरेको थियो । तर, मुआब्जा बुझेर पनि संरचना हटाउन आनाकानी गर्ने पक्षले अदालतमा अन्तरिम आदेशको लागि निवेदन दर्ता गराएका थिए । सो सम्बन्धमा सम्मानित उच्च अदालत तुलसीपुर दाङले मिति २०८२ जेठ १० गते अन्तरिम आदेश निष्क्रिय हुने र रिट खारेज हुने गरी फैसला गरेको थियो । त्यस्तै, मुआब्जा प्राप्त नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको उत्प्रेषण मुद्दामा समेत मिति २०८२ साउन ५ गते “अन्तरिम आदेश जारी नहुने” आदेश भएको सडक डिभिजन दाङले जनाएको छ । यस आधारमा मुआब्जा भुक्तानी भइसकेका संरचनाहरु अझै सडक सीमाभित्र रहेका कारण सार्वजनिक सडक ऐन, २०३१ अनुसार तिनलाई तत्काल हटाउनुपर्ने सडक डिभिजन दाङले स्पष्ट पारेको छ । सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ बमोजिम सडक अतिक्रमण हटाउने जिम्मेवारी सम्बन्धित नगरपालिकाको समेत हुने भएकोले सडक अतिक्रमण हटाउन सडक डिभिजन दाङका डिभिजन प्रमुख दिपेन्द्र बहादुर बिष्टले लमही नगरपालिकालाई सहजीकरण गर्न अनुरोध गरिएको बताए । सडक अतिक्रमणले सवारी दुर्घटना बढ्न सक्ने, ट्राफिक सुरक्षा चुनौती थपिने भएकोले सडक अतिक्रमण नगर्नेबारे समाजमा संस्कारको रूपमा विकास हुन जरुरी रहेको प्रमुख बिष्टले बताए । प्रमुख बिष्टले सडक अतिक्रमण हटाउन बल प्रयोग गरेर मात्र सम्भव नहुने र दीर्घकालीन समाधानको लागि सम्बद्ध सम्पूर्ण पक्षहरूबीच समन्वय र सहकार्य गरी संयुक्त पहलमा अभियानको रूपमा अघि बढ्नको लागि आग्रह गरे।
