तनहुँको भानु नगरपालिकाले गुन्द्रुकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पु(याउने उद्देश्यसहित ‘भानु गुन्द्रुक’ नामक ब्राण्ड निर्माण गर्ने योजना अघि बढाएको छ ।
कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत यो योजना अघि सारिएको हो । नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणपछि प्रेरणा लिएर भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको हो ।
नगरपालिकाले गुन्द्रुक उत्पादन, प्रशोधन र विपणनका लागि नवीनतम प्रविधि र व्यवस्थापन प्रणाली प्रयोग गर्ने तयारी गरेको छ । यसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता, प्याकेजिङ र लेबलिङमा सुधार, साथै ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने योजना रहेको छ ।
उत्पादन ‘ट्रयाकिङ’ प्रणाली, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ, र क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि लागू गरिने नगरपालिकाले जनाएको छ । किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीले बताए ।
“गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ,” उनले भने, “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान–उपभोक्ता सम्बन्धलाई बलियो बनाउने र समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचा अपनाउनेछौँ ।”
भानु नगरपालिकाले यो अभियानमार्फत कृषकलाई आर्थिक रूपमा सबल बनाउने, रैथाने खेतीलाई प्रोत्साहन दिने र स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने विश्वास व्यक्त गरेको छ ।
गुन्द्रुकलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा चिनाउने भानुको अभियान
