यस वर्ष २०८२ सालको श्रावण २५ गतेसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपाइँ भइसकेको छ । गत वर्ष सोही मितिसम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो ।
प्रदेशगत विवरणअनुसार, सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ, जहाँ ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा कुल १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ ।

कर्णाली प्रदेशमा ९८.४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत, कोशी प्रदेशमा ९४.४२ प्रतिशत, बागमती प्रदेशमा ९३.५६ प्रतिशत, गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत र मधेश प्रदेशमा ७६.५४ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको देखिन्छ, जहाँ ३ लाख ७२ हजार ६४५ हेक्टरमध्ये २ लाख ८५ हजार २३४ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष रोपाइँको समग्र प्रगति केही सुस्त देखिएको मन्त्रालयको प्रारम्भिक मूल्याङ्कनमा उल्लेख गरिएको छ । पानीको आपूर्ति, मौसमी वर्षाको ढिलाइ र केही क्षेत्रमा श्रमिक अभावका कारण रोपाइँको गति प्रभावित भएको बताइएको छ ।