महेन्द्र राजमार्गको धानखोलादेखि लमही, अर्जुनखोलासम्म करिब ४१ किमि सडक Millenium Challenge Account Nepal (MCA-Nepal) बाट पाइलट प्रोजेक्टको रूपमा विकास भइरहेको छ । MCA-Nepal बाट नयाँ प्रविधि (Full Depth Reclamation) प्रयोग गरी स्तरोन्नति हुने भएकोले सडक मर्मत सम्भारको लागि नेपाल सरकार(सडक बोर्ड नेपाल)बाट अत्यन्त न्यून बजेट विनियोजन हुने गरेको छ । अन्य मर्मत संभार गर्न नसके सडकको अवस्था बिग्रिदै जाने र खाल्डाखुल्डी टालेर मात्र सडक सतहको अवस्थामा सुधार हुँदैन । विगत केहि वर्षदेखि सो सडक खण्ड मर्मतको लागि विनियोजित बजेटबाट सडकको सतहका खाल्डाखुल्डी पुर्न मुस्किल हुने अवस्था रहेको सडक डिभिजन दाङको भनाई छ । MCA-Nepal मार्फत निर्माण व्यवसायी छनौटको प्रक्रिया अन्तिम चरणमा रहेको र निर्माण कार्य सुरु हुन अनुमानित दुई/तीन महिना लाग्ने बुझिएकोले पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडकखण्डको पटके मर्मत (खाल्डाखुल्डी टाल्ने) संभारको लागि सडक विभागमा अनुरोध गरिएको र ठेक्कापट्टा गर्ने सहमति प्राप्त गरि ठेक्का आव्हान गरिसकिएको डिभिजनको भनाई छ ।डिभिजनबाट प्राप्त जानकारी अनुसार, पटके मर्मत कार्यको लागि निर्माण व्यवसायी नियुक्त भइ खाल्डाखुल्डी टाल्ने काम सुरु हुनको लागि पनि खरिद प्रक्रिया पूरा गर्दा कम्तिमा एक महिना समय लाग्ने देखिएको र सडकमा भएका खाल्डाखुल्डी वर्षाको मौसममा झन् बढ्ने स्वाभाविक प्रक्रिया भएकोले सडक डिभिजनमा उपलब्ध सीमित स्रोत साधनहरूको प्रयोग गरी अल्पकालीन रूपमा खाल्डाखुल्डी टाल्ने काम सुरु गरिएको छ ।
