काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका रुपमा पाटन अस्पताल १२०० शय्यामा स्तरोन्नती गरिने भएको छ । ललितपुर महानगरपालिका—५ लगनखेलमा अस्पतालको १२०० शय्याको नयाँ भवन बनाइन लागेको हो । प्रतिष्ठानले प्रस्तावित १२०० शय्याको अस्पतालका स्तरोन्नतीका लागि आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) समेत वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको छ । १२०० शय्याको अस्पताल सञ्चालनका लागि लागि १० तलाको भवन बनाइनेछ । जसमा दुई तला बेसमेन्ट, भुइँ तला र ८ तला रहनेछन् । दुई तला बेसमेन्टमध्ये तल्लो बेसमेन्टमा पार्किङ हुनेछ भने माथिल्लो बेसमेन्टमा लन्ड्री, किचेन, कक्ष, सिएसएमडी, एमईपी, स्टाफ कक्ष, प्याथोलोजी, ब्लड बैक र ग्ममा क्यामरा रहनेछ । भुइँतलामा लबी, इमर्जेन्सी र ओपीडी राखिने ईआई प्रतिवेदनमा छ । यसैगरी, पहिलो तलामा एक्स—रे, सिटी स्क्यान, ईसीजी, एमआरआई, नमूना संकलन, फार्मेसी, कफी सप, प्रतिक्षा कक्ष, ओपीडी कक्ष, इमर्जेन्सी प्रवेश, आईपीडी हुने प्रतिवेदनमा छ । दोस्रो तलामा कन्सल्ट कक्ष, मेडिकल एमआरसी, शल्यक्रिया कक्ष, अर्थोपेडिक्स, छाला रोग कक्ष, नाक, कान, घाँटी रोग कक्ष, आँखा रोग कक्ष, बच्चा उपचार कक्ष, मनोचिकित्सक कक्ष र स्त्री तथा महिला रोग कक्ष रहेनछ । यस्तै, तेस्रो तलामा दन्त कक्ष, न्यूरोलोजी, कार्डियाक, नेफ्रोलोजी, फिजियोथेरापी, ग्यास्ट्रो विज्ञान केन्द्र रहनेछ भने चौथो तलामा शल्यक्रिया कक्ष, पूर्व शल्यक्रिया कक्ष, शल्यक्रिया पश्चात कक्ष, आईसीयु, फार्मेसी, प्रतिक्षा कक्ष, स्टाफ कक्ष, डाक्टर कक्ष र एनेस्थेसिया विभाग हुनेछ । पाँचौ तलामा सुपर स्पेलेष्ट वार्ड, छैटौं तलामा प्रोफेसर कक्ष, प्राइभेट वार्ड र स्टोर कक्ष, सातौं तलामा सभा हल र कक्षा कोठाहरु र टप तलामा पानकीको टंयाकी रहने प्रतिवेदनमा उल्लेख छ । भवन निर्माण सुरु भएको ३६ महिना निर्माण अवधि राखिएको उक्त अस्पताल भवन राष्ट्रिय भवन मापदण्डअनुसार निर्माण हुनेछ । यो आयोजनाको लागत १० अर्ब ७३ करोड २३ लाख ५४ हजार ६७९ रहेको छ, जुन आर्थिक वर्ष २०७९/८० को जिल्ला दररेटअनुसारको लागत हो । अस्पतालको १० तलाको यो अत्याधुनिक भवन अस्पतालको नाममा रहेको २६,०५४.८४ वर्गकिलोमिटर क्षेत्रफलमा बन्नेछ । भवन बनिसकेपछि हाल ६०० शय्या सञ्चालनमा रहेको अस्पताल १२०० शय्याको हुनेछ । जनशक्ति हिसाबले ६०० शय्यामा चलिरहेको पाटन अस्पतालमा अहिले ६२ अस्पतालको प्रशासन तथा व्यवस्थापनतर्फकका कर्मचारीहरु छन् भने १५८४ जनशक्ति क्लिनिकलतर्फको छ । अब अस्पताल १२०० शय्यामा विस्तार हुँदा प्रशासन तथा व्यवस्थापनको जनशक्ति ७३ जना पुग्नेछ छ भने क्लिनिकल सेवातर्फको जनशक्ति २३८२ पुग्ने आँकलन प्रतिवेदनमा छ ।
पाटन अस्पताल १२०० शैयाको हुने, स्तरोन्नती लागत १० अर्ब ७३ करोड
