म आफ्नै पछिल्ला अनुभवहरू तपाईंसँग बाँड्न चाहन्छु। म पहिले फेसबुकमा केही न केही लेखिरहने गर्थें। फेसबुकमा मित्रता स्वीकार्नुभएका धेरैलाई थाहै होला !
नयाँ वर्ष २०८२ को आगमनसँगै फेसबुकमार्फत नै २०८२ लाई स्वागत गरेलगत्तै मैले एउटा निर्णय गर्दै करिब दुई महिनाका लागि सामाजिक सञ्जाल र मेसेन्जरबाट पूर्ण रूपमा अलग भएँ। मैले फेसबुक नै डिएक्टिभेट गरेँ। कसैले नियाल्नुभएको थियो कि थिएन, थाहा छैन।
पहिले चिनजानका सबैलाई जन्मदिन, विवाह वार्षिकोत्सव वा चाडपर्वमा सामाजिक सञ्जालमा लेखेर वा पोस्टमा टिप्पणी गरेर शुभकामना दिन नछुटाउने म पछिल्ला केही वर्षहरूमा यो बानी पूर्ण रूपमा त्यागिसकेको थिएँ। यो निर्णय किन गरेँ र यसले मेरो जीवनमा के परिवर्तन ल्यायो, आज म यही विषयमा आफ्ना मनका कुरा खोतल्दै छु।
एउटा समय थियो। साँझमा सुत्नुअघि मेरो हातमा किताब हुन्थ्यो। उपन्यासका पाना पल्टाउँदा होस् या नन-फिक्सन पुस्तकमा डुब्दा रात बितेको पनि पत्तै हुँदैनथ्यो। प्रत्येक रातको त्यो एकाग्रतापूर्ण पल मेरो जीवनको अभिन्न अंग थियो।
तर पछिल्लो समयमा हातमा किताब लिएको पाँच मिनेट नपुग्दै मोबाइलले बोलाउन थाल्थ्यो। ‘कसैको म्यासेज पो आयो कि?’, ‘ट्विटरमा के प्रचलनमा छ?’, ‘इमेल त आएन?’, फेसबुकमा कुनै समाचार पो साझा भयो कि?
यो मेरो मात्रै समस्या भने होइन रहेछ। यो त विश्वव्यापी चुनौती पो रहेछ। अहिले धेरै पाठकले पनि पहिले जस्तै एकाग्रतासाथ पढ्न सक्दैनन्। न समाचार, न कथा, न उपन्यास। अघिल्लो दशकसम्म जुन उत्साहका साथ पुस्तक पढिन्थ्यो, त्यो हराएको छ। यसको मूल कारण एउटै हो: डिजिटल संसार र यसले सिर्जना गरेको डोपामिनको व्यसन।
डोपामिन भनेको के हो र यसको प्रभाव कस्तो हुन्छ? यसबारे अलिकति कुरा गरौँ।हाम्रो मस्तिष्कमा डोपामिन नामक एक प्रकारको रसायन (न्यूरोट्रान्समिटर) हुन्छ। यसलाई ‘खुशी महसुस गराउने रसायन’ भनिन्छ। जब हामीलाई कुनै कुरामा आनन्द वा सन्तुष्टि मिल्छ, हाम्रो मस्तिष्कले डोपामिन उत्पादन गर्छ। यसले हामीलाई ती कामहरू बारम्बार गर्न प्रोत्साहित गर्छ, किनकि यसले एक किसिमको पुरस्कारको अनुभूति दिलाउँछ। यही डोपामिनको भूमिकाका कारण हामीलाई नयाँ कुरा सिक्न, लक्ष्य हासिल गर्न र उत्प्रेरित हुन मद्दत मिल्छ।
तर, समस्या तब सुरु हुन्छ जब यो डोपामिन प्रणालीलाई हामीले गलत तरिकाले उत्तेजित गर्न थाल्छौँ। बाँदरको समूहमा गरिएको एउटा प्रसिद्ध प्रयोगमा बाँदरले खाना, यौनभन्दा पनि सिधै डोपामिन उत्पादन हुने बटन थिच्न रुचाएको पाइयो। बाँदरले डोपामिनको लोभमा डोपामिन उत्पादन हुने बटन यति धेरै थिचिरहे कि अन्तिममा बाँदर भोक र थकाइले मरे।
आज हामी पनि ती बाँदरजस्तै भइरहेका छौँ। हाम्रो डोपामिन ‘बटन’ भनेको मोबाइल फोन, सामाजिक सञ्जालका ‘लाइक’, ‘सेयर’, ‘टिप्पणी’, नयाँ सूचना, इमेल, युट्युबका भिडियो र स्क्रोल गर्न मिल्ने अन्तहीन समाचार हुन्। यी स-साना डिजिटल संकेतले हाम्रो ध्यानलाई टुक्राटुक्रा पार्छन् र डोपामिन लतमा फसाउँछन्। अर्थात् मोबाइलमा आउने हरेक नयाँ सूचनाले हाम्रो मस्तिष्कमा अलिकति मात्रामा डोपामिन रिलिज गरिहाल्छ जसले हामीलाई मोबाइल अझ धेरै स्क्रोल गर्न वा हेर्न प्रेरित गर्छ।
हाम्रो मस्तिष्कको डोपामिन प्रणालीले छोटो अवधिको तुरुन्तै प्राप्त हुने कुरा (जस्तै: फेसबुकका स्टाटस, रील, फोटो, छोटो भिडियो) लाई प्राथमिकता दिन्छ, जसले गर्दा लामो समयसम्म एकाग्रता चाहिने काम (जस्तै: किताब पढ्ने) प्रति हाम्रो रुचि घट्दै जान्छ। अनि त्यही क्षण पुस्तक हामीबाट टाढा भागिहाल्छ।
मलाई पनि यही भयो।
मोबाइल, ल्यापटप र सामाजिक सञ्जालमा गरिने अनन्त स्क्रोलिङको लतल् किताब पढ्नका लागि आवश्यक मेरो धैर्यता र एकाग्रता हराइसकेछ । पछि मलाई यो कुरा महसुस भयो । यसरी सचेत हुँदा मलाई के लाग्यो भने किताबमा फर्कनु भनेको पढाइमा फर्कनु मात्र होइन, यो त आफूभित्र फर्कनु हो। आजको तीव्र गतिको जीवनमा जहाँ हरेक कुरा हतारमा हुन्छ, हामी आफूलाई समय दिन, आफैंसँग शान्त भएर बस्न र गम्भिर कुरामा चिन्तन गर्न बिर्सँदै गएका छौँ। किताबले हामीलाई त्यो अवसर दिन्छ, आफैंलाई बुझ्न र आफ्ना विचारहरूलाई व्यवस्थित गर्न।
मेरो बुझाइमा पुस्तक पढ्नु भनेको जानकारी हासिल गर्नु मात्र होइन, यो एउटा ध्यान पनि हो, एक आत्मिक अभ्यास।यही महसुसपछि मैले आफ्ना बानी परिवर्तन गर्न थालेँ। पढ्ने क्षमतालाई फेरि फर्काउने उपाय भनेको डिजिटल सीमा तय गर्नु नै रहेछ।
मैले टाइम लिमिट सेट गरेँ मोबाइलमा। अनि मैले मोबाइललाई सुत्ने कोठाबाट बाहिर राख्न थालेँ। किताब पढ्दा फोनलाई सधैं ‘साइलेन्ट’ मोडमा राख्न थालेँ। साँझको केही समय पढ्नकै लागि मात्र छुट्याएँ। सुरुमा यो निकै गाह्रो भयो! दश-बीस पेज मात्र पढ्दा पनि मन स्थिर हुँदैनथ्यो। बिस्तारै, धैर्यपूर्वक प्रयास गरिरहेँ। केही दिनको निरन्तर प्रयासपछि मेरो मन बिस्तारै फेरि किताबमा बस्न थाल्यो। शब्दहरूसँग मेरो पुरानो नाता फेरि जोडियो। मलाई त्यो पुरानो साथी फर्केको जस्तो लाग्यो।
आज संसार डिजिटल छ, सूचनाको भेल छ र मोबाइलका सूचनाहरू रोकिएका छैनन्। म डिजिटल संसार सामाजिक सन्जालमा केही हप्तादेखि फेरि फर्केको छु। तर अब मलाई थाहा छ, कहिले डिजिटल संसारबाट टाढा बस्नुपर्छ र कहिले आफूतिर फर्किनुपर्छ। किताब पढ्न सक्नु भनेको ब्द र वाक्य पढ्नु होइन, त्यो आफैंलाई समय दिनु पनि हो, आफ्नो एकाग्रतालाई पुनर्जीवित गर्नु हो र सोच्ने क्षमतालाई जोगाउनु हो।
मेरो विचारमा “हामीले सोच्नका लागि पनि पढ्न सक्नुपर्छ।” यो भनाइ सरल लागे पनि यसको मर्म महत्वपूर्ण छ। आज समाजमा धेरै मानिसका समस्या कस्ता छन् भने उनीहरु तथ्यबिना निचोड निकाल्ने, गहिरो विश्लेषणबिना बहस गर्ने र टिकटकका शीर्षक हेरेर निष्कर्ष बनाउने गर्दछन्। जब हाम्रो ध्यान स-साना, छिटो-छिटो आउने डिजिटल “रमाइलो”मा केन्द्रित हुन्छ तब हाम्रो मस्तिष्कले लामो समयसम्म एउटै विषयमा गहिरिएर सोच्ने बानी गुमाउँदै जान्छ।

पढ्ने क्षमता भनेको आत्म-संवाद गर्ने क्षमता हो, आफूभित्रको संसारलाई चिन्ने माध्यम हो। पुस्तक पढाइले हामीलाई अझ मानवीय, सहानुभूतिसम्पन्न र विवेकी बनाउँछ।
म फेरि किताबमा फर्किएको छु। हिजो केही समय मैले पढ्न छाडेको थिएँ, आज फेरि सुरु गरिरहेको छु।
मेरो जस्तो अनुभूति तपाईँलाई पनि छ?
(प्रस्तुत अनुभव डिकेन्द्र ढकालको फेसबुकपेजबाट अनुमती लिएर साभार गरिएको हो ।
https://www.facebook.com/share/p/15bSUgC5oT/?mibextid=wwXIfr